काठमाण्डौ । राष्ट्रियसभा सदस्य युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग माग गरेका छन्। मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै शर्माले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त दिनलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न आग्रह गरेका हुन्।
शर्माले भोटेकोसीमा आएको बाढीलाई जलवायु परिवर्तनसँगै मानवीय गतिविधिका कारण सिर्जित वातावरणीय असन्तुलनको प्रारम्भिक संकेतका रूपमा बुझ्नुपर्ने बताए।
भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,” उनले बैठकमा भने, “बाढीले ज्यान गुमाएकाप्रति शोक प्रकट गर्दछु।”
उनले प्राकृतिक विपद्का घटना न्यूनीकरणका लागि नेपालको सूचना तथा पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याए। समयमै जोखिमको सूचना प्राप्त गर्न सक्ने प्रभावकारी प्रणाली विकास गर्न सके विपद्बाट हुने मानवीय क्षति कम गर्न सकिने उनको भनाइ थियो।
“जे नहुनुपर्ने थियो, त्यो भइसक्यो,” शर्माले भने, “अब खोजी, राहत, उद्धार र पुनर्स्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ।”
उनले विपद्पछिको अवस्थामा प्रचारमुखी गतिविधिभन्दा परिणाम देखिने गरी काम गर्न सरकारलाई आग्रह गरे। प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा क्षतिग्रस्त संरचनाको पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
रसुवासहित विभिन्न क्षेत्रमा पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेका बेला शर्माले यस्ता घटनाबाट पाठ सिक्दै दीर्घकालीन विपद् व्यवस्थापन नीति र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।