काठमाण्डौ । बलिउड अभिनेता सोनु सुद नेपालमा आएका छन्। भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।
नेपालमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै सोनु सुदले प्रभावित नागरिकलाई सहयोग गर्ने घोषणा गरेका थिए।
उनले सामाजिक सञ्जालमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै विपद्को कठिन समयमा नेपाली नागरिकलाई एक्लो महसुस हुन नदिने बताएका थिए।
सोनुले बाढी प्रभावितका लागि खाद्यान्न, आश्रय तथा पुनर्निर्माणमा आवश्यक सहयोग लिएर नेपाल आउने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार उनी राहत सामग्रीसहित काठमाडौं आइपुगेका हुन्।
भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएपछि विभिन्न देश, संस्था, कलाकार तथा व्यक्तिबाट नेपालका लागि सहयोग आउने क्रम जारी छ।
सामाजिक तथा मानवीय काममा सक्रिय रहँदै आएका सोनु सुदले यसअघि पनि विभिन्न विपद् तथा संकटका समयमा प्रभावित नागरिकको सहयोगका लागि अभियान सञ्चालन गर्दै आएका छन्।
उनको नेपाल आगमनसँगै बाढी प्रभावित नागरिकका लागि राहत वितरण तथा अन्य सहयोगका कार्यक्रम अघि बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।