काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःनिर्माणका लागि करिब १३ करोड रुपैयाँ सहयोग गरेका छन्।
इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले मंगलबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई १३ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।
ऊर्जा उद्यमीहरूले व्यक्तिगत तथा संस्थागत रूपमा संकलन गरेको रकम राहत तथा उद्धारका लागि हस्तान्तरण गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनाहरूले भौगोलिक तथा प्राकृतिक विपद्का चुनौती सामना गर्नुपरिरहेको बताए। उनले आगामी दिनमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर थप सुरक्षित तथा दिगो संरचना निर्माणमा जोड दिनुपर्ने बताए।
विपद्को समयमा राज्यलाई आर्थिक सहयोग गरेर ऊर्जा उद्यमीहरूले संकटको घडीमा सरकारसँगै रहेको भावना प्रदर्शन गरेको मन्त्री श्रेष्ठको भनाइ थियो।
इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू आफैं पनि बाढीपहिरोबाट प्रभावित भएको अवस्थामा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताए। उनका अनुसार भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
‘हामी आफैं पनि प्रभावित भएका छौं। तर संकटको समयमा पीडितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग गरेका हौं,’ डाँगीले भने।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफैं संकटमा परेको अवस्थामा समेत राहतका लागि आर्थिक सहयोग गर्नु प्रशंसनीय रहेको बताइन्।
इप्पानका निवर्तमान अध्यक्ष तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका सल्लाहकार गणेश कार्कीले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उद्धार तथा पुनःस्थापनाका लागि इप्पानले प्राविधिक सहयोगसमेत गर्दै आएको बताए।
कसले कति सहयोग गरे ?
राहत कोषमा सबैभन्दा ठूलो सहयोग गर्नेमा मोहनविक्रम कार्की समूहले १ करोड ६५ लाख रुपैयाँ, हिमप्रसाद पाठक तथा समूहले १ करोड ५१ लाख रुपैयाँ र पुष्पज्योति ढुंगाना तथा समूहले १ करोड ७ लाख ७७ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, बटु लामिछाने तथा गणेश कार्की समूहले ८७ लाख ७७ हजार ७७७ रुपैयाँ, इशा श्रेष्ठ समूहले ६५ लाख रुपैयाँ, बुटवल पावर कम्पनी समूह तथा कम्पनीहरूले ५१ लाख ४१ हजार ९८६ रुपैयाँ, उत्तमब्लोन लामा तथा समूहले ५१ लाख रुपैयाँ र माउन्टेन इनर्जी नेपालले ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।
सुमन कर्माचार्य तथा समूह र अजयबल्लभ पन्त तथा समूहले ५०–५० लाख रुपैयाँ सहयोग गरेका छन्।
टीएन आचार्य तथा समूहले २६ लाख रुपैयाँ, सन्तोषराज नेपाल तथा समूहले २५ लाख २५ हजार रुपैयाँ तथा मोहनकुमार डाँगी, दिनेश गुरुङ र अनुप आचार्य तथा समूहले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन्। साङ्ग्रिला ऊर्जा लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडले पनि २५ लाख रुपैयाँका दरले सहयोग गरेका छन्।
रघुनाथ पुरी तथा समूह (गोरक्ष हाइड्रो) ले २५ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, कालङ्गा ग्रुपले २० लाख ७० हजार रुपैयाँ, कदम केसी तथा समूह र अभिज्ञा मल्ल तथा समूहले २० लाख १० हजार रुपैयाँका दरले तथा न्यादी ग्रुपले २० लाख रुपैयाँ सहयोग गरेको छ।
बीजी ग्रुप तथा हाइड्रो सोलुसनले १५ लाख रुपैयाँ, बलराम खतिवडा तथा समूहले १५ लाख रुपैयाँ, संयुक्त ऊर्जा तथा चितवन इनर्जी समूहले ११ लाख ११ हजार ११० रुपैयाँ र ग्रिन भेञ्चर्सले ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
इसुवा इनर्जी प्रालिले १० लाख ५५५ रुपैयाँ, अभियान समूहले ७ लाख ५१ हजार रुपैयाँ तथा नारायण कँडेल तथा समूहले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, केशवबहादुर रायमाझी तथा समूह, लिबर्टी इनर्जी, अपर हेवा समूहले ५ लाख ५५ हजार ५५५ रुपैयाँका दरले सहयोग गरेका छन् भने सोमनाथ कँडेल तथा समूहले ५ लाख ९ हजार ९९९ रुपैयाँ सहयोग गरेका छन्।
विकास हाइड्रो, प्रकाश दुलाल तथा समूह, सुमन जोशी तथा समूह, जगदिश शिवाकोटी तथा समूह, मकरीगाड हाइड्रोपावर, सानीभेरी हाइड्रो, रिडी पावर तथा समूह, नर्थ समिट हाइड्रो र सुपरहेवा पावर कम्पनीले ५–५ लाख रुपैयाँ सहयोग गरेका छन्।
अपोलो हाइड्रोपावरले ३ लाख रुपैयाँ, भिजन टेस्ला पावरले २ लाख रुपैयाँ तथा प्रतिमा ज्ञवाली तथा समूह, भरत खत्री तथा समूह, चिर्खवा हाइड्रोपावर तथा निको इनर्जीले १–१ लाख रुपैयाँ सहयोग गरेका छन्। चम्पावती हाइड्रोपावरले ५० हजार रुपैयाँ सहयोग गरेको छ।
यसैगरी, इप्पान दैवीप्रकोप उद्धार कोषबाट ६ लाख ३२ हजार २३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
इप्पानका अनुसार संकलित रकम बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःनिर्माणमा प्रयोग गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।