काठमाण्डौ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
सभामुख अर्यालले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुहुनेछ।
संघीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरिएको छ।
बाढीका कारण विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मानवीय क्षति भएको र व्यापक जनधनको क्षति पुगेको प्रस्तावमा जनाइएको छ।
प्रस्तावमार्फत बाढीबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ। साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।