काठमाण्डौ । देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ लाख ३५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्था र त्यहाँ कार्यरत कर्मचारीको तर्फबाट उक्त रकम प्रदान गरिएको हो।
ग्लोबल आइएमई लघुवित्तले प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
संस्थाले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै बेपत्ता नागरिकहरू यथाशीघ्र सकुशल सम्पर्कमा आउने अपेक्षा गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रदान गरिएको सहयोगले प्रभावित नागरिकको उद्धार तथा राहत अभियानमा केही योगदान पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
साथै, बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण नागरिकको जनजीवन यथाशीघ्र सामान्य अवस्थामा फर्कियोस् भन्ने कामनासमेत संस्थाले गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।