काठमाण्डौ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ राहत तथा पुनःस्थापनाका लागि निकासा गरेको छ। सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत दुई चरणमा उक्त रकम उपलब्ध गराएको हो।
बाढीपछि तत्कालै रसुवा र नुवाकोटलाई १÷१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो। त्यसपछि पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र दोस्रो चरणमा भदौ १६ गते थप ६ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो।
निकासा गरिएको रकममध्ये रसुवाका चार स्थानीय तहलाई रकम उपलब्ध गराइएको छ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइएको छ।
त्यस्तै, नुवाकोटका विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ७५ लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ निकासा गरिएको छ।
धादिङका गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनीघाट गाउँपालिकालाई ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
यसैगरी, गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकालाई ४०÷४० लाख रुपैयाँ निकासा गरिएको छ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो।
त्यसपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको जनाइएको छ। साथै, प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।