काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनाबाट १० दिनपछि दुई कर्मचारी जीवितै उद्धार भएपछि रसुवाका अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरू पनि सुरक्षित हुनसक्ने आशा बलियो भएको पूर्वऊर्जामन्त्री कुलमान घिसिङले बताएका छन्।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’को भूमिगत विद्युत्गृहमा फसेका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको थियो।
लामो समयदेखि सम्पर्कविहीन रहेका दुई कर्मचारी सकुशल भेटिएपछि घिसिङले यसलाई अन्य प्रभावित जलविद्युत् आयोजनामा जारी खोज तथा उद्धार अभियानका लागि पनि उत्साहजनक संकेतका रूपमा लिएका छन्।
उनका अनुसार रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्गृहसँगै माथिल्लो त्रिशूली–१, अप्पर त्रिशूली–३ ‘बी’ र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि जीवित हुनसक्ने आशा अब थप मजबुत भएको छ।
घिसिङले सामाजिक सञ्जालमार्फत त्रिशूली–३ ‘ए’का कर्मचारीको जीवित उद्धारको खबरले ठूलो राहत र खुसी दिएको उल्लेख गरेका छन्।
उनले अन्य आयोजनाका सुरुङभित्र रहेका व्यक्तिको खोजी र उद्धारमा अब अझ बढी तदारुकता देखाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।
विशेषगरी रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१, अप्पर त्रिशूली–३ ‘बी’ र लाङटाङ खोला आयोजनामा फसेकाहरूको खोजीलाई उच्च प्राथमिकतामा राखेर उपलब्ध प्राविधिक क्षमता, विज्ञता र साधनस्रोत अधिकतम परिचालन गर्नुपर्ने उनको भनाइ छ।
घिसिङले उद्धार अभियानमा आवश्यक प्राविधिक तथा विज्ञ सहयोग निरन्तर रहने पनि बताएका छन्।
उनले जोखिमपूर्ण अवस्थामा अहोरात्र खटिएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी टोलीलाई धन्यवादसमेत दिएका छन्।
त्रिशूली–३ ‘ए’बाट १० दिनपछि दुई व्यक्ति जीवित भेटिएपछि बाढी प्रभावित अन्य सुरुङ तथा भूमिगत संरचनामा समेत जीवनको सम्भावना बाँकी रहेको सन्देश गएको छ। यससँगै अन्य आयोजनामा जारी खोजीलाई थप तीव्र र व्यवस्थित बनाउनुपर्ने दबाब पनि बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।