शनिबार, भाद्र २०,२०८३ 10:35:17
Bizshala
  • शनिबार, भाद्र २०,२०८३ 10:35:17
Bizshala
Global IME Bank Limited

भोटेकोसीको सिरानमा २२ लाख घनमिटर पानी बोकेको ताल रित्तियो, तत्कालको ठूलो जोखिम टर्‍यो

भोटेकोसीको सिरानमा २२ लाख घनमिटर पानी बोकेको ताल रित्तियो, तत्कालको ठूलो जोखिम टर्‍यो
New Office

काठमाडौं। भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि नेपाल–चीन सीमाक्षेत्रको सिरानमा बनेको विशाल ब्यारियर लेक अर्थात् पहिरोले थुनिएको ताल पूर्ण रूपमा रित्तिएको छ। तालको पानी प्राकृतिक रूपमा निकास भएर नदीले पुनः नियमित बाटो समातेपछि तत्कालका लागि अर्को ठूलो बाढी निम्तिन सक्ने जोखिम टरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको केरुङ बन्दरगाहस्थित मुख्य विपद् क्षेत्रभन्दा माथि बनेको तालको पानी रित्तिएको र नदीको बहाव पुनः सञ्चालन भएको हो। केरुङ ‘८·२६’ विपद् आपतकालीन उद्धार कमान्डले तालका कारण सिर्जित जोखिम ‘मूलतः हटेको’ जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

तर ताल रित्तिँदैमा सीमाक्षेत्र पूरै जोखिममुक्त भइसकेको भने होइन। हिमपहिरो सुरु भएको क्षेत्रमा अस्थिर अवस्थामा रहेका हिमखण्ड र चट्टान, नदीको गल्छीमा थुप्रिएको ठूलो परिमाणको गेग्रान तथा दुवै किनारका पहिरो थप खस्न सक्ने भएकाले नयाँ ताल बन्ने वा नदीको सतह अचानक बढ्ने जोखिम कायमै छ। चिनियाँ भूगर्भ अधिकारीहरूले वर्षा र हिमपग्लाइका कारण हिम–चट्टान खस्ने, पहिरो जाने तथा नदी पुनः थुनिन सक्ने चेतावनी दिएका छन्।

२२ लाख घनमिटर पानी, ६० मिटर अग्लो प्राकृतिक बाँध

राडारबाट गरिएको मापनअनुसार विपद्पछि बनेको प्राकृतिक बाँध औसत ६० मिटर अग्लो, करिब एक हजार १०० मिटर लामो र ३०० मिटर चौडा थियो। तालले करिब ०.१ वर्गकिलोमिटर क्षेत्र ओगटेको थियो भने त्यसमा करिब २२ लाख घनमिटर पानी जम्मा भएको थियो।

यो परिमाणको पानी एकैपटक निकास भएको अवस्थामा तल्लो तटीय क्षेत्रमा फेरि शक्तिशाली बाढी आउन सक्ने चिन्ता थियो। त्यसैले तालको पानीको सतह, प्राकृतिक बाँधको अवस्था र तल्लो क्षेत्रको नदी बहावलाई ड्रोन, भूउपग्रह, राडार तथा स्थलगत उपकरणमार्फत चौबीसै घण्टा निगरानी गरिएको थियो।

भदौ १२ गते साँझ प्राकृतिक बाँधबाट पानी चुहिने गति बढेपछि ताल अचानक फुट्न सक्ने आशंकामा चिनियाँ पक्षले केरुङ बन्दरगाह क्षेत्रमा खटिएका उद्धारकर्मी र पत्रकारलाई समेत तत्काल सुरक्षित स्थानमा सारेको थियो। तालमा तत्कालीन समयमा करिब २५ लाख घनमिटरसम्म पानी रहेको प्रारम्भिक आकलन सार्वजनिक भएको थियो।

पछि पानी क्रमिक रूपमा निकास हुन थालेपछि बाँधमाथिको दबाब घटेको हो। भदौ १४ गतेसम्म ताल लगभग रित्तिएर नदी बग्न थालेको प्रारम्भिक विवरण आएको थियो। त्यसपछि निरन्तर अनुगमन गरी अहिले तालको पानी पूर्ण रूपमा बाहिरिएको र जोखिम मूलतः नियन्त्रणमा आएको पुष्टि गरिएको हो।

नदीको बहाव घट्दो

पछिल्लो मापनअनुसार केरुङ जाङ्बो अनुगमन केन्द्रमा नदीको बहाव प्रतिसेकेन्ड ८६.८ घनमिटर र त्यसको मुख्य शाखा दोङलिन जाङ्बोको गुओबा केन्द्रमा प्रतिसेकेन्ड ३४.७ घनमिटर रहेको छ। दुवै स्थानको बहाव अघिल्लो दिनको तुलनामा सामान्य घटेको पाइएको छ।

पुहरेपुच्याङ जाङ्बोस्थित आपतकालीन मापन केन्द्रमा भने प्रतिसेकेन्ड २०.७ घनमिटर बहाव रेकर्ड भएको छ, जुन अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा परिवर्तन भएको छैन। यी तथ्यांकले तालको पानी अचानक विस्फोटक ढंगले नभई क्रमिक रूपमा बाहिरिएको र नदीको बहाव स्थिरतातर्फ गएको संकेत गर्छन्।

बाढीको मूल कारण ताल नभई उच्च हिमाली ‘विपद् शृंखला’

भदौ १० गतेको विनाशकारी बाढी ताल मात्रै फुटेका कारण आएको भन्ने प्रारम्भिक बुझाइ थियो। तर चिनियाँ प्राकृतिक स्रोत तथा भूगर्भविद्हरूको अनुसन्धानले यसको प्रारम्भ नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिम–चट्टान विस्फोटक पहिरोबाट भएको देखाएको छ।

चिनियाँ अधिकारीहरूको पछिल्लो निष्कर्षअनुसार नेपालतर्फ लाङटाङ रिझाङ हिमालको उत्तरी भेगमा समुद्री सतहबाट करिब पाँच हजार २०० मिटर उचाइमा रहेको हिमनदीको एउटा भाग भाँचिएको थियो। हिम र चट्टानको विशाल भाग करिब चार हजार मिटर उचाइसम्म तीव्र गतिमा खस्दा बाटोमा रहेको माटो, ढुंगा र हिमनदीजन्य पदार्थसमेत सोहोरेर विशाल लेदोसहितको बाढीमा परिणत भएको थियो।

प्रतिसेकेन्ड करिब ५० मिटरको वेगमा अघि बढेको उक्त हिम–चट्टान र लेदोको भेल करिब २२ किलोमिटर यात्रा गर्दै एक हजार ८०० मिटर उचाइमा रहेको केरुङ बन्दरगाहसम्म पुगेको चिनियाँ अनुसन्धानको निष्कर्ष छ। त्यही विपद्को अवशेषले नदीका विभिन्न स्थान थुन्दा पछिल्ला ब्यारियर लेक बनेका हुन्।

यसकारण अहिले रित्तिएको ताललाई भदौ १० को मूल बाढी निम्त्याउने तालभन्दा पनि विनाशकारी हिम–चट्टान पहिरो र लेदोको भेलपछि नदी थुनिएर बनेको दोस्रो चरणको जोखिमका रूपमा बुझ्नुपर्ने हुन्छ।

नेपालका लागि किन महत्त्वपूर्ण?

ताल फुट्ने जोखिम हट्नु नेपालतर्फका रसुवा, टिमुरे, रसुवागढी तथा भोटेकोसी–त्रिशूली नदीको तल्लो तटीय क्षेत्रका लागि ठूलो राहत हो। तालमा जम्मा भएको लाखौँ घनमिटर पानी अचानक छुटेको भए यसअघि नै कमजोर बनिसकेका नदी किनार, सडक, पुल, जलविद्युत् आयोजना र बस्तीमा फेरि ठूलो क्षति पुग्न सक्थ्यो।

तालको जोखिम घटेसँगै नेपालतर्फ जारी खोज, उद्धार, सडक पुनर्निर्माण तथा नदी आसपासका संरचना सुरक्षित बनाउने काममा पनि सहजता आउने अपेक्षा गरिएको छ। चीनतर्फ समेत जोखिमकै कारण पटक–पटक रोकिएको उद्धार तथा खोज कार्यलाई थप गहिराइमा लैजान बाटो खुलेको छ।

यद्यपि, यसलाई पूर्ण रूपमा खतरा समाप्त भएको घोषणा मान्न नमिल्ने अधिकारीहरूको भनाइ छ। भदौ १७ गतेको भूउपग्रह तस्बिरमा तालभन्दा तल्लो नदी क्षेत्र र दोङलिन जाङ्बोका दुवै किनारमा साना पहिरा देखिएका थिए। ती पहिरा खसेर नदी पुनः थुनिए नयाँ ब्यारियर लेक बन्न सक्ने चिनियाँ जलस्रोत अधिकारीहरूको चेतावनी छ।

त्यसैले हिम–चट्टान भत्किएको मूल क्षेत्र, नदीका साँघुरा गल्छी, पुराना तथा नयाँ पहिरो, उद्धार मार्ग र आसपासका बस्तीलाई लक्षित गरी राडार, ड्रोन र भूउपग्रहबाट निरन्तर निगरानी गरिने भएको छ। तत्कालका लागि भोटेकोसीको सिरानमा थुप्रिएको २२ लाख घनमिटर पानीको खतरा टरे पनि हिमाली भूगोलमा सुरु भएको विपद्को शृंखला पूर्ण रूपमा रोकिएको निष्कर्षमा पुग्न अझै हतार हुने देखिन्छ।

-तस्विर तथा समाचार स्रोत: सिन्ह्वा

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.