काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित नेपालले पुनर्निर्माण, पुनर्स्थापना तथा दीर्घकालीन पुनरुत्थानका लागि बेलायत सरकारसँग थप सहयोगको आग्रह गरेको छ।
बेलायती संसदमा सोमबार आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँगको करिब डेढ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले यस्तो आग्रह गरेका हुन्।
बैठकमा इन्डो–प्यासिफिक मामिला हेर्ने मन्त्री ब्यारोनेस वीन्टरटन, इन्डो–प्यासिफिक मामिलाकी निवर्तमान मन्त्री तथा फेल्थम एन्ड हेस्टनकी सांसद सीमा मल्होत्रा, नेपाल मामिला हेर्ने एपीपीजीकी अध्यक्ष तथा अल्डरसट र फार्नबरोकी सांसद एलेक्स बेकरलगायत सहभागी थिए।
त्यस्तै रेडिङ सेन्ट्रलका सांसद म्याट रोडा, सरे हिथका सांसद डा. अल पिंकरटन, ब्र्याकनेलका सांसद पिटर स्वालो तथा बेजिङस्टोकका सांसद लुक मर्फीलगायत बैठकमा सहभागी थिए।
बैठकमा दुवाडीले नेपालमा बाढीपछि उत्पन्न संकट र पछिल्लो अवस्थाबारे बेलायती मन्त्री तथा सांसदहरूलाई जानकारी गराउँदै पुनर्निर्माण, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि थप सहयोग आवश्यक रहेको बताएका थिए।
उनले संकटको समयमा नेपालप्रति निरन्तर ऐक्यबद्धता र सहयोग प्रदर्शन गरेकोमा बेलायत सरकार तथा बेलायती जनताप्रति आभारसमेत व्यक्त गरे।
भोटेकोशी बाढीपछि बेलायतले मानवीय सहायता स्वरूप ५ मिलियन पाउन्ड उपलब्ध गराउने घोषणा गरेको थियो। दुवाडीले सो सहयोगका लागि धन्यवाद दिँदै नेपालको पुनर्निर्माणका लागि थप आर्थिक प्याकेज घोषणा गर्न बेलायती सरकारलाई पहल गर्न आग्रह गरेका हुन्।
मन्त्री तथा सांसदहरूसँग भूतपूर्व गोर्खा सैनिकका समानता सम्बन्धी माग, दोहोरो कर उन्मुक्ति, नेपाल–बेलायत सिधा हवाई सम्पर्क तथा पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो।
बैठकमा विशेषगरी लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका भूतपूर्व गोर्खा सैनिकका माग र सरोकारका विषय उठाइएको थियो। गोर्खा सैनिकका माग सम्बोधनका लागि अघि बढेको त्रिपक्षीय वार्ता लामो समयदेखि स्थगित हुँदा गोर्खा समुदायमा निराशा बढ्दै गएकोतर्फ दुवाडीले बेलायती पक्षको ध्यानाकर्षण गराएका थिए।
त्रिपक्षीय वार्तालाई पुनः अघि बढाउन बेलायती पक्षले आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।