काठमाण्डौ । रूपन्देहीमा यस वर्ष १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लाका सबै पालिकामा रहेका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका गरी कुल १२ हजार ९० जनालाई खोप लगाउने तयारी गरिएको हो।
जिल्ला जनस्वास्थ्य प्रशासक उमादेवी थापाका अनुसार लक्षित किशोरीमध्ये ११ हजार ७०९ जना कक्षा ६ मा अध्ययनरत छन् भने ३८१ जना विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरी हुन्।
खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा असोज ५ देखि ८ गतेसम्म जिल्लाका ११ वटा पालिकामा खोप दिइनेछ भने बाँकी पाँच पालिकामा असोज १२ देखि १५ गतेसम्म अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानका लागि जिल्लाभर ४८३ विद्यालय र १५० स्वास्थ्य संस्था गरी कुल ६३३ खोप केन्द्र तय गरिएको छ। कुनै पनि लक्षित किशोरी खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकासमेत परिचालन गरिनेछ।
रूपन्देहीमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका २ हजार २१२ किशोरीलाई खोप लगाइनेछ। त्यसपछि तिलोत्तमा नगरपालिकामा १ हजार ५६३, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ हजार १२४, देवदहमा ९६३ र सैनामैनामा ९१८ किशोरी खोप अभियानमा समेटिनेछन्।
यस्तै, सिद्धार्थनगरमा ८१६, मायादेवीमा ६२७, गैंडहवामा ६०१, कोटहीमाईमा ५३५, कञ्चनमा ४७०, रोहिणीमा ४६७, सियारीमा ४६०, मर्चवारीमा ४०३, सम्मरीमाईमा ३६५, शुद्धोधनमा ३०९ र ओमसतियामा २५७ किशोरीलाई खोप लगाउने लक्ष्य छ।
गत वर्ष रूपन्देहीमा १२ हजार ४१९ किशोरीलाई एचपिभी खोप लगाइएको थियो भने त्यसअघिको वर्ष २०८१ मा ५८ हजार ९०० किशोरीलाई खोप दिइएको थियो।
पाठेघरको मुखको क्यान्सर मुख्यतः ह्युमन प्यापिलोमा भाइरस अर्थात् एचपिभीको संक्रमणका कारण हुने चिकित्सकहरू बताउँछन्। यही संक्रमणबाट भविष्यमा हुनसक्ने क्यान्सरको जोखिम कम गर्ने उद्देश्यले किशोरीलाई एचपिभीविरुद्धको खोप दिने गरिएको हो।
नेपालमा पनि पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक मानिन्छ। उपलब्ध तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २ हजार २०० महिलामा यो क्यान्सर देखिने गरेको छ भने १ हजार ३०० भन्दा बढी महिलाको यसकै कारण मृत्यु हुने गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।