काठमाण्डौ । चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। घटनापछिको वास्तविक अवस्था बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले समेत प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ।
उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको पहिरोले सीमा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। घटनामा हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा २३ देशका २६१ विदेशी नागरिक पनि रहेको जनाइएको छ।
सिजाङ (तिब्बत) जनसरकारका कार्यकारी उपाध्यक्ष रेन वेईका अनुसार उद्धारका लागि २ हजार ५०० भन्दा बढी जनशक्ति, ५०० भन्दा बढी सवारीसाधन र ९ हजारभन्दा बढी आधुनिक उपकरण परिचालन गरिएको छ।
उद्धार तथा खोजी कार्यमा प्रविधिको प्रयोगसमेत व्यापक गरिएको छ। प्रभावित क्षेत्रमा ड्रोनमार्फत १ हजारभन्दा बढी उडान गरिएको छ भने ५.४३ टन राहत सामग्री हवाई मार्गबाट खसालिएको छ। थप पहिरोको सम्भावनालाई ध्यानमा राखेर जोखिमयुक्त ढिस्को, खोँच र आसपासका क्षेत्रको चौबीसै घण्टा प्राविधिक निगरानी भइरहेको छ।
नाकामा आएको अवरोधका कारण अलपत्र परेका १ हजार ७२० नेपाली सीमावर्ती बासिन्दालाई चिनियाँ स्थानीय अधिकारीहरूले आवश्यक सहयोग उपलब्ध गराएका छन्। यस्तै, केरुङ नाका हुँदै अन्य गन्तव्यतर्फ जान लागेका ३ हजार ३८८ विदेशी नागरिकलाई वैकल्पिक मार्गबाट पठाइएको छ।
विपद् व्यवस्थापनमा नेपाल–चीन सहकार्यलाई पनि तीव्र बनाइएको छ। चीनले नेपाललाई मौसम, जलविज्ञान र हिमनदीसम्बन्धी तथ्यांक नियमित रूपमा उपलब्ध गराइरहेको वेईले बताएका छन्।
नेपाल सरकारको अनुरोधमा चीनले सुरुङ उद्धार विशेषज्ञ, डीएनए परीक्षण विज्ञ तथा अन्य प्राविधिक टोलीसहित आपत्कालीन राहत सामग्रीसमेत नेपाल पठाएको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।