काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टिकाराम न्यौपाने, पूर्वसञ्चालक बिमल कुमार सावथिया, तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारतीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। राष्ट्रिय विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दुवै कम्पनीले संयुक्त रूपमा सहयोग गर्ने निर्णय गरेको जनाएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको रकमले बाढी प्रभावित परिवारको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका काममा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका दुवै कम्पनीले आगामी दिनमा पनि देश र समुदायलाई आवश्यक परेको अवस्थामा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुवै कम्पनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गरेका छन्। साथै, राहत, उद्धार र पुनःस्थापनाका काम शीघ्र तथा प्रभावकारी रूपमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।