काठमाण्डौ । जेनजी विद्रोहको पहिलो वार्षिकीका अवसरमा जेनजी फ्रन्टले वर्तमान सरकारको शासन शैलीमाथि गम्भीर प्रश्न उठाएको छ। फ्रन्टले बहसपत्र सार्वजनिक गर्दै सरकारसँग १२ वटा प्रश्न गरेको हो।
जेनजी आन्दोलनको बलमा वर्तमान सरकार गठन भए पनि यसको कार्यशैली विगतका सरकारभन्दा खासै फरक नदेखिएको फ्रन्टको निष्कर्ष छ। आन्दोलनका मुद्दा सम्बोधन हुन नसकेको, आन्दोलनकारीमाथिका मुद्दा कायम रहेको र कतिपय जेनजी अझै पुर्पक्षका लागि जेलमा रहेको भन्दै फ्रन्टले सरकारको ध्यानाकर्षण गराएको छ।
सरकार र जेनजी पक्षबीच भएका सहमति कार्यान्वयन नभएको पनि फ्रन्टको आरोप छ। आन्दोलनको बलमा नेताहरू सत्तामा पुगे पनि आन्दोलनकारीकै मुद्दा र मागप्रति सरकार गम्भीर नदेखिएको बहसपत्रमा उल्लेख छ।
भूमिहीन तथा सुकुमवासी बस्तीमाथि विकल्प नदिई गरिएको कारबाहीप्रति पनि फ्रन्टले आपत्ति जनाएको छ। विस्थापनअघि वैकल्पिक व्यवस्थाबारे सरकार किन गम्भीर नभएको भन्दै प्रश्न उठाइएको छ।
फ्रन्टले संसद्प्रतिको सरकारको जवाफदेहितामाथि पनि प्रश्न गरेको छ। झण्डै दुई तिहाइ बहुमतसहित सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी संसद् छल्ने प्रवृत्तिमा देखिएको र प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उठेका प्रश्नको पर्याप्त जवाफ नदिएको आरोप लगाइएको छ।
प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा संसद्मा दिएको अभिव्यक्ति कूटनीतिक तथा संवैधानिक मर्यादाअनुकूल नभएको पनि फ्रन्टको निष्कर्ष छ। विगतमा प्रश्न उठाएरै राजनीतिक उचाइ बनाएका नेताहरू अहिले प्रश्नबाट भाग्न खोजेको आरोपसमेत लगाइएको छ।
सुरक्षा निकायको भूमिकामाथि छुट्टै छानबिन समिति बनाउने भनिए पनि दोषीमाथि कारबाही नभएको फ्रन्टको दाबी छ।
यस्तै, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक शुद्धीकरण, जवाफदेहिता र नेतृत्व छनोटमा नयाँ मानक स्थापित गर्न नसकेको पनि फ्रन्टले उल्लेख गरेको छ।
सरकार सामाजिक सञ्जालको लोकप्रियतालाई वास्तविक जनमत ठान्ने प्रवृत्तिमा गएको आरोप लगाउँदै फ्रन्टले प्रश्न गरेको छ, ‘सामाजिक सञ्जालमा धेरै देखिएको कुरा नै जनमत हो ? हाम्रो प्रश्न हामीले छानिरहेका छौँ कि एल्गोरिदमले ?’
फ्रन्टले स्वास्थ्य बीमा सुधार गर्नुको साटो कमजोर बनाउने दिशामा सरकार अघि बढेको आरोपसमेत लगाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।