काठमाण्डौ । तस्वीरमा मानिस उही छन्, उभिएको ठाउँ पनि उही हो। तर उनको पछाडिको संसार भने पूरै बदलिएको छ।
एउटा तस्वीरमा आकर्षक काठका रेलिङसहितको सिँढी छ। उज्यालो र जीवन्त घरभित्र प्रतिष्ठित उद्योगी तथा साहित्यकार बसन्तकुमार चौधरी आत्मविश्वासका साथ उभिएका छन्। अर्को तस्वीरमा त्यही सिँढीका अवशेष छन्- जलेका भित्ता, चर्किएको छत र उजाड बनेको परिवेश। त्यसको बीचमा चौधरी मौन उभिएका छन्।
पहिलो तस्वीर हिजोको हो। दोस्रो आजको।
जेनजी आन्दोलनका क्रममा हिंसाको आगोले काठमाण्डौको ठमेल गेटमा रहेको चौधरीको पुर्ख्यौली घर जलाएर ध्वस्त पारेको ठीक एक वर्ष पूरा भएको छ। तर एक वर्ष बितिसक्दा पनि घरको भग्नावशेष उस्तै छ र त्यससँग जोडिएको चौधरीको भावनात्मक घाउ पनि अझै पुरिएको छैन।
सोही घरको भग्नावशेषमा पुगेर चौधरीले सार्वजनिक गरेको कारुणिक अभिव्यक्तिले घरसँगै जलेका उनका स्मृति, साहित्यिक साधना र पारिवारिक विरासतको कथा बोलेको छ।
उनले लेखेका छन्:
“घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।”
यो केवल एउटा भौतिक संरचना गुमेको पीडा होइन। चौधरीका लागि त्यो घर आफ्नो बाल्यकाल, आमाबुबाको न्यानो सान्निध्य, परिवारका अनेक पुस्ताको हाँसो–आँसु तथा पाँच दशकभन्दा लामो साहित्यिक यात्रासँग जोडिएको जीवन्त इतिहास थियो।
उनका अनुसार उक्त घर करिब ५० वर्षअघि उनका बुबाले अत्यन्त कठिन परिस्थितिमा भावी पुस्ताका लागि निर्माण गरेका थिए। त्यसैले आन्दोलनका क्रममा लागेको आगोले इँटा, सिमेन्ट र काठबाट बनेको भवन मात्रै जलाएन; परिवारको संस्कार, पहिचान र पुस्तौँदेखि सञ्चित स्मृतिहरूको भौतिक आधारसमेत खोस्यो।
पुस्तकालयसँगै जले पाँच दशकका अक्षर
चौधरीलाई सबैभन्दा गहिरो चोट घरभित्र रहेको आफ्नो प्रिय पुस्तकालयको विनाशले दिएको देखिन्छ। करिब पाँच दशक लगाएर एक–एक पुस्तक र शब्द जोड्दै निर्माण गरेको पुस्तकालय उनको साहित्यिक यात्राको मौन साक्षी थियो।
त्यही पुस्तकालय उनका सिर्जनात्मक एकान्तहरूको साथी र साहित्यिक ऊर्जाको प्रमुख स्रोत थियो। तर हिंसाको डढेलोले त्यसलाई पनि बाँकी राखेन।
चौधरीले लेखेका छन्, “त्यो दिन घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो।”
आगोले पुस्तकहरू मात्रै जलाएन। पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरू पनि खरानी भए। अझ गम्भीर क्षति त प्रकाशनको प्रतीक्षामा रहेका उनका कैयौँ अमूल्य पाण्डुलिपि जलेर नष्ट हुनु थियो।
ती पाण्डुलिपिसँगै उनका वर्षौँका अनुभूति, कल्पना र अधुरा सपनाहरू धुवाँ बनेर आकाशमा विलीन भए। आफ्नै आँखाअगाडि अक्षर–अक्षर जलेको हेर्नुपर्दाको असहायता उनले आफ्नो अभिव्यक्तिमा मार्मिक ढंगले उतारेका छन्।
भग्नावशेषमा गरिएको प्रण
घर जलेपछि चौधरी त्यही भग्नावशेषको बीचमा उभिएका थिए। आफ्नो संसार खरानी बनेको देखे पनि त्यही बेला उनले एउटा प्रण गरे—हरेक वर्ष यही दिन, यही भूमिमा फर्कने र जलिसकेका स्मृतिलाई शब्दमार्फत तर्पण दिने।
एक वर्षपछि उनी आफ्नो त्यही प्रण पूरा गर्न भग्नावशेषमा पुगेका छन्।
उनले सार्वजनिक गरेका दुई तस्वीरले समयको त्रासदीपूर्ण अन्तर देखाउँछन्। पुरानो तस्वीरमा भव्य घर, सुरक्षित स्मृति र जीवनको लय देखिन्छ। आजको तस्वीरमा भित्ता र छतसँगै एउटा युग भत्किएको दृश्य छ।
“यी दुवै तस्वीर एकै ठाउँका हुन्। एउटा हिजोको अतीत, अर्को आजको वर्तमान। अगाडि उभिएको मानिस त उही हो, तर पछाडिको मेरो संसार पूर्ण रूपमा फेरिएको छ,” चौधरीले लेखेका छन्।
घर जलेको एक वर्षपछि पनि त्यहाँ पुनर्निर्माणको रौनक छैन। बाँकी छन् त केवल आगोले डढाएका भित्ता, चर्किएको छत, सिँढीका अवशेष र तिनै अवशेषबीच आफूले गुमाएको संसार खोजिरहेका चौधरी।
खरानी हुन नसक्ने स्मृति
राजनीतिक वा सामाजिक परिवर्तनका नाममा फैलिने हिंसाले व्यक्तिको सम्पत्तिमात्र नष्ट गर्दैन। त्यसले मानिसको निजी इतिहास, पारिवारिक विरासत, सिर्जना र भावनात्मक पहिचानमाथि पनि आक्रमण गर्छ। चौधरीको जलेको घर त्यसैको एउटा कारुणिक प्रतीक बनेको छ।
भौतिक घर फेरि बनाउन सकिएला। फर्निचर र पुस्तक फेरि किन्न सकिएला। सम्मानका प्रमाणपत्र पुनः तयार हुन सक्लान्। तर आगोमा हराएका हस्तलिखित पाण्डुलिपि, आमाबुबासँग बिताएका क्षणका निशानी र पुस्तौँदेखि सञ्चित स्मृतिका भौतिक चिनोहरू उही रूपमा फर्काउन सम्भव छैन।
यद्यपि, चौधरीले आफ्नो अभिव्यक्तिलाई निराशामा मात्रै टुंग्याएका छैनन्। भग्नावशेषबीच उभिएर उनले स्मृति र विरासत भौतिक संरचनाभन्दा शक्तिशाली हुने सन्देश दिएका छन्।
उनको निष्कर्ष छ:
“विध्वंसको आगोले संरचना त जलाउन सक्छ, इतिहास र विरासत होइन। किनभने, अन्तसमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्!”
एक वर्षअघि निभेको आगोको ताप अझै सेलाएको छैन। घरका पर्खाल ढलेका छन्, पुस्तकालय खरानी भएको छ र अमूल्य पाण्डुलिपिहरू हराएका छन्। तर बसन्त चौधरीभित्र बाँचेको त्यो घर अझै ढलेको छैन।
अब त्यो घर इँटा र काठमा होइन, उनका सम्झना र शब्दहरूमा जीवित छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।