काठमाडौँ। बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार अधिकांश स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
ललितपुरको गोदावरी–४ स्थित टिका भैरव–चारधारे सडक एकतर्फी सञ्चालनमा छ भने कान्तिलोकपथको ताकुर्चे खण्ड पूर्ण रूपमा बन्द छ। रसुवाका मुख्य राजमार्ग पनि बाढीका कारण अर्को सूचना नभएसम्म अवरुद्ध छन्।
गण्डकी प्रदेशमा मनाङको बेँसीसहर–खाडसार, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक पूर्ण रूपमा बन्द छन्। मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी तथा मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्गमा पनि यातायात ठप्प छ। बागलुङको कालीगण्डकी करिडोर भने पहिरो हटाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ।
लुम्बिनी प्रदेशमा गुल्मीको कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द छ भने पाल्पाको सिद्धार्थ राजमार्ग पहिरो हटाएर एकतर्फी सञ्चालनमा छ। अवरुद्ध सडक खुलाउने काम जारी रहेकाले यात्रुले हिँड्नुअघि स्थानीय प्रहरी वा सम्बन्धित निकायसँग सडक अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।




प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।