काठमाण्डौ । लियोनल मेस्सीले उत्कृष्ट गोल गर्दै इन्टर मियामीलाई जितको नजिक पुर्याए पनि नासभिल एससीले खेलको अन्तिम क्षणमा गोल फर्काएपछि एमएलएसको रोमाञ्चक खेल २–२ को बराबरीमा टुंगिएको छ।
शनिबार राति नु स्टेडियममा भएको खेलमा नासभिलका साम सुरिजले चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर मेस्सीको खतरनाक कर्नर रिड बेकर–ह्वाइटिङलाई लाग्दै गोलमा परिणत भएपछि मियामीले बराबरी गरेको थियो।
दोस्रो हाफमा मेस्सीले रोड्रिगो डे पाउलसँगको संयोजनपछि करिब २० यार्डबाट उत्कृष्ट फिनिस गर्दै मियामीलाई २–१ को अग्रता दिलाए। तर खेल सकिनुअघि थप गरिएको समयको अन्तिमतिर सुरिजले नजिकैबाट दोस्रो गोल गर्दै नासभिललाई महत्वपूर्ण एक अंक दिलाए।
यससँगै मेस्सीले इन्टर मियामीका लागि सबै प्रतियोगितामा ९९औँ गोल पूरा गरेका छन्। एमएलएसमा उनको गोल संख्या १९ पुगेको छ र उनी गोल्डेन बुट दौडमा शीर्ष स्थानमा रहेका छन्। खेलका क्रममा मेस्सीले एकपटक बल पोस्टमा समेत प्रहार गरेका थिए।
तर मेस्सीको उत्कृष्ट व्यक्तिगत प्रदर्शनका बाबजुद मियामीले पछिल्ला नौ खेलमा सबै प्रतियोगिता गरी केवल एक खेलमा मात्र जित हासिल गरेको छ।
बराबरीपछि मियामी २५ खेलबाट ४५ अंकसहित इस्टर्न कन्फरेन्सको दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानमा रहेको नासभिलको भने नौ अंकको अग्रता यथावत् रहेको छ। मियामीले शीर्ष टोलीसँगको दूरी घटाउने महत्वपूर्ण अवसर गुमाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।