काठमाण्डौ । भोटेकोसीमा आएको विनाशकारी हिमबाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउने कामलाई तीव्र बनाइएको छ।
सुरुङभित्र ठूलो परिमाणमा जमेको माटो, लेदो र भग्नावशेष हटाउन पहिलोपटक ३ घनमिटर क्षमताको ह्विल लोडर प्रयोग गरिएको हो।
रास्वपाका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ह्विल लोडर प्रवेश गराएर लेदो हटाउने तथा बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार उद्धार टोली अहिले सुरुङभित्रको अवरोध हटाउँदै सम्भावित रूपमा फसेका व्यक्तिसम्म पुग्ने प्रयासमा केन्द्रित छ।
भदौ १० गते भोटेकोसी नदीमा आएको हिमपहिरोसहितको बाढीले चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि आयोजनाको सुरुङभित्र मानिस फसेको आशंका गरिँदै आएको छ।
नेपाली सेनाले भने चिलिमे क्षेत्रमा सात जना फसेको विवरण सार्वजनिक गरेको छ। यद्यपि, सुरुङभित्रको अवस्था पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।
यसअघि सुरुङभित्र बाक्लो लेदो र भग्नावशेषका कारण खोज तथा उद्धार कार्य निकै कठिन बनेको थियो। अब भारी उपकरण प्रयोग गरेर लेदो हटाउन थालिएसँगै उद्धार टोलीलाई भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।
न्यौपानेले सुरुङभित्र अझै जीवित मानिस फेला पर्न सक्ने आशा व्यक्त गर्दै आएका छन्। उनका अनुसार सम्भावित स्थानसम्म पुग्न लेदो हटाउने काम निरन्तर जारी रहनेछ।
चिलिमेको सुरुङभित्र जारी यो खोज तथा उद्धार अभियानलाई भोटेकोसी बाढीपछिको सबैभन्दा संवेदनशील उद्धार कार्यमध्ये एक मानिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।