काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विश्व क्रिकेटका चर्चित नाममध्ये एक डेभिड वार्नर नेपाल आउने भएका छन्। अस्ट्रेलियाका पूर्व कप्तानसमेत रहेका वार्नरलाई काठमान्डु गोर्खाजले अनुबन्ध गरेपछि आगामी एनपीएलको चर्चा अन्तर्राष्ट्रिय क्रिकेट वृत्तसम्म पुगेको छ।
काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा भित्र्याएको पुष्टि गरेको हो। यससँगै वार्नर एनपीएलमा सहभागी हुने अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट स्टार बनेका छन्।
वार्नरको आगमनलाई केवल एउटा विदेशी खेलाडीको अनुबन्धका रूपमा मात्र नभई एनपीएलको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ।
विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव जमाइसकेका वार्नर नेपालमा खेल्न आउनुले एनपीएलप्रति अन्तर्राष्ट्रिय खेलाडी र फ्रेन्चाइज क्रिकेटको ध्यान थप आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ।
वार्नरले अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा प्रभावशाली प्रदर्शन गरेका छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा २०१५ र २०२३ को एकदिवसीय विश्वकप, २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।