काठमाण्डौ । भारतको कर्नाटक राज्यमा फ्रिज विस्फोटपछि भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्डनजिकै चाभाट गल्लीस्थित एक घरमा फ्रिज विस्फोट भएको थियो।
विस्फोटलगत्तै घरमा आगलागी हुँदा त्यहाँ रहेका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका दुई जनाको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताइएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थल कर्नाटकको राजधानी बेंगलुरुदेखि करिब ५०६ किलोमिटर उत्तरपश्चिममा पर्छ।
फ्रिज किन र कसरी विस्फोट भयो भन्ने कारण भने तत्काल खुल्न सकेको छैन।
प्रहरीले घटनासम्बन्धी मुद्दा दर्ता गरी विस्फोटको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।