काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजतलास र राहतमा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भदौ १० गतेको भोटेकोशी बाढीमा परेर आफ्नो गृहजिल्ला कञ्चनपुरसहित देशका विभिन्न जिल्लाका सयौँ नागरिक अझै बेपत्ता रहेको बताए।
बाढीपहिरोबाट हजारौँ नागरिक प्रभावित हुँदा पनि सरकार पीडितको घरदैलोसम्म पुग्न नसकेको उनको आरोप छ।
बोहराले सुरक्षा निकायले आफ्ना कर्मचारी र परिवारको जिम्मेवारी लिने आश्वासन दिए पनि सर्वसाधारण नागरिकका लागि राज्यको उपस्थिति पर्याप्त नदेखिएको बताए।
उनले प्रशासन, पालिका र अन्य स्थानीय निकायले एकअर्कालाई देखाएर जिम्मेवारी पन्छाउने अवस्था बनेको आरोपसमेत लगाए।
संसदमा उनले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर–२ अन्तर्गत शुक्लाफाँटा नगरपालिका–३ जोनापुरकी सुनिता डगौराको उदाहरण प्रस्तुत गरे।
दुवै मिर्गौला फेल भएकी डगौराका छोरा अभिषेक डगौरा लाङटाङ हाइड्रोमा कार्यरत रहेको र बाढीपछि बेपत्ता भएको उनले बताए।
“घरमा औषधि किनिदिने र बिहान–साँझ छाक टार्ने कोही छैन,” बोहराले भने।
यो एउटा प्रतिनिधि घटना मात्रै भएको उल्लेख गर्दै उनले देशभरका धेरै बाढीपीडित परिवारको अवस्था यस्तै दयनीय रहेको बताए।
“यो अवस्थामा सरकारले के गर्छ, कहाँ जान्छ, के भन्छ भन्ने हेर्न बाँकी छ,” उनले संसदमा भने।
बोहराले बेपत्ता नागरिकको खोजी तीव्र बनाउन, प्रभावितको तत्काल उद्धार गर्न र पीडित परिवारलाई राहतसँगै गाँस र कपासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
उनले विपद्पछि राहत वितरण र पुनर्स्थापनाको काम प्रशासनिक समन्वयमा अल्झिन नहुने भन्दै पीडितको प्रत्यक्ष जीवनसँग जोडिएका आवश्यकता तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।