काठमाण्डौ । देशभर चर्किएको खाना पकाउने एलपी ग्यासको अभाव नियन्त्रण गर्न सरकारले आयात ह्वात्तै बढाउने भएको छ। भोलिदेखि भारतबाट दैनिक १६० बुलेटसम्म ग्यास आयात गर्ने तयारी गरिएको हो।
उद्योगमन्त्री दीपक साहका अनुसार बजारमा देखिएको ग्यास संकट समाधान गर्न नेपालले भारतसँग आयात परिमाण बढाइदिन आग्रह गरेको थियो। त्यसमा भारतीय पक्ष सहमत भएपछि दैनिक आयात १६० बुलेटसम्म पुर्याउन लागिएको हो।
यसअघि दैनिक औसत करिब १०० बुलेट ग्यास आयात हुँदै आएको थियो। नयाँ व्यवस्थासँगै दैनिक आयात करिब ६० प्रतिशतले बढ्नेछ।
मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री साहले बजारमा तत्काल ठूलो परिमाणमा ग्यास आपूर्ति नगरेसम्म अभाव सहज नहुने बताए।
“भोलिदेखि १६० बुलेट ग्यास आयात हुन्छ,” उनले भने, “अब विस्तारै एक साताभित्र ग्यासको समस्या समाधान हुन्छ।”
मन्त्री साह मंगलबार नेपाल आयल निगम पुगेर ग्यासको माग, आयात र बजार आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। त्यस क्रममा उनले ग्यास आयातको परिमाण तत्काल बढाउन निगमलाई निर्देशन दिएका थिए।
सरकारी निर्देशनपछि नेपाल आयल निगमले थप ग्यास उपलब्ध गराउन इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पत्राचार गरेको मन्त्री साहले बताएका छन्।
पछिल्लो बाढी तथा सडक अवरोधका कारण नियमित ढुवानी प्रभावित भएपछि विशेषगरी काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा ग्यास अभाव चर्किएको छ। सिलिन्डर लिन उपभोक्ता लामो लाइन बस्नुपर्ने तथा कतिपय स्थानमा निर्धारित मूल्यभन्दा बढी तिर्नुपर्ने गुनासोसमेत बढेको छ।
मुख्य मार्गबाट ढुवानी सहज नभएका कारण अहिले मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्साका विभिन्न स्थानमा बुलेटबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत बजारमा पठाउने व्यवस्था मिलाइएको छ।
सरकारले अब आयातको मात्रा बढाएर बजारमा सिलिन्डरको आपूर्ति तीव्र पार्ने रणनीति लिएको छ। दैनिक १६० बुलेटको आयात नियमित हुन सके हाल देखिएको अभाव क्रमशः कम हुने सरकारको अपेक्षा छ।
उद्योगमन्त्री साहले बढी आयातसँगै वितरण प्रणालीसमेत प्रभावकारी बनाउनुपर्ने र बजारमा कृत्रिम अभाव तथा अस्वाभाविक मूल्य वृद्धि हुन नदिन निगरानी कडा पारिने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।