काठमाण्डौ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीलाई अक्टोबर ६ मा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ। उक्त खेल अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट उनको औपचारिक विदाइका रूपमा रहने अपेक्षा गरिएको छ।
अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीलाई राष्ट्रिय टोलीका लागि विशेष विदाइ दिन खेलमा आमन्त्रण गरिएको बताए। उनका अनुसार मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीका प्रतीक तथा कप्तान भएकाले उनले योग्य विदाइ पाउनुपर्नेछ।
बेनिनविरुद्धको खेल ब्युनस आयर्सस्थित रिभर प्लेटको एस्टाडियो मोनुमेन्टलमा हुनेछ। करिब ८५ हजार दर्शक क्षमताको उक्त रंगशालामा हुने खेललाई मेसीको अन्तर्राष्ट्रिय करिअरको विशेष अवसरका रूपमा हेरिएको छ।
तापियाले २०२२ को विश्वकप विजेता अर्जेन्टिनी टोलीका सबै सदस्यलाई पनि मेसीको विदाइ कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको जानकारी दिएका छन्।
अर्जेन्टिनाले विदाइ खेलअघि तीन मैत्रीपूर्ण खेल खेल्नेछ। टोलीले सेप्टेम्बर ३० मा कोर्डोबामा बोलिभियासँग खेल्नेछ भने अक्टोबर ३ मा ब्युनस आयर्समा बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अक्टोबर ६ मा बेनिनविरुद्धको खेलमा मेसी मैदानमा उत्रनेछन्।
मेसीले यस खेलबाट अर्जेन्टिनाका लागि २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने अपेक्षा गरिएको छ। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् र राष्ट्रिय टोलीका लागि हालसम्म १२५ गोल गरिसकेका छन्।
मेसीको दुई दशक लामो अन्तर्राष्ट्रिय करिअरमा अर्जेन्टिनाले २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको छ। उनले गत अगस्टमा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो करिअर अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका थिए।
आफ्ना पिता जर्जको निधनपछि मेसीले फुटबलमा आफ्नो भविष्यबारे गम्भीर रूपमा सोचिरहेको बताएका थिए। अर्जेन्टिनाबाट खेल्न छोड्ने निर्णयले आफूलाई गहिरो पीडा भए पनि यो सही समय भएको उनको भनाइ थियो।
क्लब फुटबलतर्फ मेसी हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा आबद्ध छन्। उनको क्लब सम्झौता सन् २०२८ को सिजनको अन्त्यसम्म रहेको छ।
यसैबीच, अर्जेन्टिनाले आगामी घरेलु खेलमा दर्शक क्षमतामा कटौतीसहितको अनुशासनात्मक कारबाही पनि भोग्नेछ। गैर(खेलकुद प्रकृतिका प्रदर्शनसम्बन्धी गतिविधि भएको भन्दै फिफाले अर्जेन्टिनालाई अर्को घरेलु खेलमा रंगशालाको क्षमता ५० प्रतिशतमा सीमित गर्न आदेश दिएको छ।
विश्वकपको स्पेनविरुद्धको सेमिफाइनलमा अर्जेन्टिना २–१ ले विजयी भएपछि केही खेलाडीले ‘द फकल्यान्ड्स आर अर्जेन्टिनियन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि भएका घटनाका कारण केही अर्जेन्टिनी खेलाडीमाथि निलम्बनसमेत गरिएको छ।
मिडफिल्डर लियान्द्रो पारडेस १० खेल, डिफेन्डर नाहुएल मोलिना ७ खेल तथा थियागो अल्माडा १ खेलका लागि निलम्बित छन्। आगामी मैत्रीपूर्ण खेलहरूमा यी निलम्बन लागू हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।