काठमाण्डौ । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क विश्वकै उत्कृष्ट सहर बनेको छ। बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेका छन्।
विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच प्रमुख आधारमा मूल्यांकन गर्दै समग्र सूची तयार गरिएको हो।
सूचीमा न्यूयोर्क पहिलो स्थानमा रहँदा लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन्। अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को पाँचौँ स्थानमा छन्।
आयरल्यान्डको डब्लिन छैटौँ, अमेरिकाको बोस्टन सातौँ र सान होजे आठौँ स्थानमा छन्। जापानको टोकियो नवौँ र स्विट्जरल्यान्डको ज्युरिख दशौँ स्थानमा रहेका छन्।
काठमाडौं ६८७औँ स्थानमा
नेपालको राजधानी काठमाडौं विश्वका उत्कृष्ट सहरको समग्र सूचीमा ६८७औँ स्थानमा परेको छ।
पाँचवटा अलग–अलग सूचकमा काठमाडौंको स्थिति भने फरक देखिएको छ।
काठमाडौं अर्थतन्त्रतर्फ ६७०औँ, मानवीय क्षमतामा ५६२औँ, जीवनस्तरमा ८४०औँ, वातावरणमा ६३९औँ र शासन सूचकमा ६३५औँ स्थानमा रहेको छ।
यसरी हेर्दा काठमाडौंको तुलनात्मक रूपमा कमजोर पक्ष जीवनस्तर देखिएको छ भने पाँच सूचकमध्ये मानवीय क्षमतामा सबैभन्दा राम्रो स्थान प्राप्त गरेको छ।
अक्सफोर्ड इकोनोमिक्सका अनुसार समग्र सूचक तयार गर्दा कुनै एउटा पक्षलाई मात्र नभई सहरको आर्थिक अवस्था, मानव स्रोत, बसोबासको गुणस्तर, वातावरण र शासन प्रणालीको संयुक्त प्रदर्शनलाई आधार बनाइएको छ।
न्यूयोर्कलाई १०० अंक
समग्र मूल्यांकनमा न्यूयोर्कले १०० अंक प्राप्त गरेको छ। दोस्रो स्थानको लन्डनले ९८.८ अंक र तेस्रो स्थानको पेरिसले ९३.४ अंक पाएका छन्।
अस्ट्रेलियाको राजधानी क्यानबेरा भने जीवनस्तरका हिसाबले विश्वकै उत्कृष्ट सहर बनेको छ। समग्र सूचकमा भने क्यानबेरा ४५औँ स्थानमा रहेको छ।
जीवनस्तर मापन गर्दा आम्दानी, आय असमानता, घरभाडा तथा आवास खर्च, औसत आयु, अपराधको अवस्था तथा मनोरञ्जन र सांस्कृतिक सुविधालाई आधार बनाइएको छ।
अर्थतन्त्रमा अमेरिकी सहरको वर्चस्व
अर्थतन्त्र सूचकका शीर्ष आठ सहरमध्ये सातवटा अमेरिकाका छन्।
यस सूचकमा न्यूयोर्क, लस एन्जलस, सान होजे, सियाटल, सान फ्रान्सिस्को, डल्लास र वासिङ्टन अगाडि छन्। शीर्ष आठमा पर्ने अमेरिकाबाहिरको सहर लन्डन मात्रै हो, जुन सातौँ स्थानमा रहेको छ।
मानवीय पुँजीतर्फ भने लन्डन पहिलो स्थानमा छ। त्यसपछि क्रमशः दुबई, टोकियो, रियाद, न्यूयोर्क, आबुधाबी, पेरिस र सेन्जेन रहेका छन्।
वातावरणमा होनोलुलु, सुशासनमा कोपनहेगन पहिलो
वातावरण सूचकमा अमेरिकाको होनोलुलु पहिलो स्थानमा रहेको छ। त्यसपछि फोर्टालेजा, बर्गेन, वेलिङ्टन, अराकाजु, सुभा, स्टकहोम र सान्ता क्रुज डे टेनेरिफे क्रमशः दोस्रोदेखि आठौँ स्थानसम्म रहेका छन्।
सुशासनतर्फ डेनमार्कको कोपनहेगन पहिलो स्थानमा छ। त्यसपछि आर्हस, अकल्यान्ड, वेलिङ्टन, क्राइस्टचर्च, हेलसिन्की, टाम्पेरे र ओस्लो शीर्ष आठमा परेका छन्।
अक्सफोर्ड इकोनोमिक्सको यो सूचकांकले विश्वका ठूला सहरको आर्थिक शक्ति मात्रै नभई त्यहाँको जीवनस्तर, जनशक्ति, वातावरणीय अवस्था र शासन क्षमताको समग्र तस्वीर प्रस्तुत गर्ने प्रयास गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।