काठमाण्डौ । सरकारले लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइको काम औपचारिक रूपमा सुरु भएको छ।
लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणालीमार्फत छपाइ सुरु गरिएको हो।
यातायात व्यवस्था विभागका अनुसार ईडीएलभीआरएसमा सेवाग्राहीको विवरण अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। त्यहाँ लाइसेन्स छपाइ भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ।
यसले नयाँ लाइसेन्स प्राप्त गर्ने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ।
नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्नेछन्। सोहीअनुसार मधेश प्रदेशले सम्झौता गरेर छपाइ सुरु गरिसकेको छ।
लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ प्रक्रिया अघि बढाएको छ।
कुनै प्रदेशले सुरक्षण मुद्रणसँग छुट्टै सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चापलाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिनेछ।
सरकारले साउन १ गतेदेखि लागू गरेको नयाँ प्रणालीमार्फत प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई समयमै लाइसेन्स उपलब्ध गराउने लक्ष्य राखेको छ।
नयाँ प्रणाली प्रभावकारी रूपमा सञ्चालन भए लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको लाइसेन्स छपाइको ढिलाइ र वितरणसम्बन्धी समस्या क्रमशः कम हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।