काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीमा प्राविधिक समस्या आएर सेयर कारोबार नै स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले पाँच सदस्यीय निरीक्षण टोली गठन गरेको छ।
नेप्सेबाट सेयर दलाल व्यवसायीको अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा ब्रोकरको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि सोमबार कारोबार स्थगित गरिएको थियो। यस घटनालाई गम्भीर रूपमा लिँदै बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।
बोर्डका अनुसार उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरिएको छ। टोलीलाई समस्याको वास्तविक कारण पहिचान गर्न, कारोबार स्थगित गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने पत्ता लगाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका सुझावसहित असोज १२ गतेभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
नेप्सेले डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको जानकारी बोर्डलाई दिएको थियो।
एउटै डेटा सेन्टरमा समस्या आउँदा अधिकांश ब्रोकर कम्पनीको कारोबार प्रणाली प्रभावित भई समग्र सेयर बजार नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि बजारको प्राविधिक पूर्वाधार, जोखिम व्यवस्थापन तथा वैकल्पिक प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
निरीक्षण टोलीले बुझाउने प्रतिवेदनका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन थप कदम चालिने बोर्डले जनाएको छ। बोर्डले यस विषयमा सरोकारवाला सबैलाई जानकारी गराएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।