काठमाण्डौ । आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली शनिबार पोखरा आउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)को सहयोग तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भुटानी टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने तय भएको छ।
मलेसियामा असोज १७ गतेदेखि सुरु हुने विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि भुटानले पोखरालाई वैदेशिक प्रशिक्षण गन्तव्यका रूपमा रोजेको हो।
गण्डकी प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्कीका अनुसार भ्रमणका क्रममा भुटानी टोलीले गण्डकी प्रदेश क्रिकेट टोलीसँग दुई र क्यान–११ सँग दुई गरी चारवटा अभ्यास खेल खेल्नेछ। सबै खेल पोखरा क्रिकेट मैदानमा हुनेछन्।
तालिकाअनुसार पहिलो अभ्यास खेल विश्व पर्यटन दिवसका अवसरमा असोज ११ गते दिउँसो १२ः३० बजे भुटान र गण्डकी प्रदेशबीच हुनेछ।
दोस्रो खेल असोज १२ गते बिहान १० बजे पुनः भुटान र गण्डकी प्रदेशबीच हुनेछ। त्यसपछि असोज १४ र १५ गते भुटानी टोलीले क्यान–११ सँग अभ्यास खेल खेल्ने तालिका छ।
गण्डकी प्रादेशिक क्रिकेट संघले अन्तर्राष्ट्रिय टोलीको पोखरा भ्रमणले खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ। साथै, यसले पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्नसमेत थप टेवा पुग्ने संघको विश्वास छ।
यस प्रकारका अन्तर्राष्ट्रिय अभ्यास खेललाई निरन्तरता दिन सके पोखरामा क्रिकेट पूर्वाधार विकासका साथै भविष्यमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने वातावरण निर्माण हुने संघले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।