काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र समस्या रहेको स्वीकार गरेपछि त्यसअनुसार व्यवहारमा पनि सुधार हुनुपर्ने बताएका छन्।
मंगलबार जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैलीतर्फ संकेत गर्दै समस्या महसुस गर्ने तर व्यवहार पुरानै राख्ने हो भने त्यसले अपेक्षित परिणाम नदिने बताएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार पोखरेलले आफूले ओलीलाई अध्यक्ष र नेता मानिरहेको र व्यक्तिगत रूपमा दूरी नरहेको स्पष्ट पारेका थिए।
सहभागी नेताले पोखरेलको भनाइ उद्धृत गर्दै बताएअनुसार उनले कुनै विषयमा असहमति राख्नु अध्यक्षलाई अस्वीकार गर्नु नभएको बताएका थिए।
“तपाईं र मेरो दूरी छैन। पार्टीभित्र समस्या छन् भन्ने रियलाइजेसन गरौं, त्यसपछि मात्रै समाधान हुन्छ,” पोखरेलको भनाइ उद्धृत गर्दै ती नेताले बताए। उनले ओलीलाई नेता माने पनि नेतृत्वको तरिका नमिलेको र पार्टी कार्यकर्तालाई समान दृष्टिले हेर्नुपर्ने धारणा राखेको स्रोतको भनाइ छ।
पोखरेलले राजनीतिक, वैचारिक र सैद्धान्तिक तहमा समेत समस्या देखिएको भन्दै त्यसको प्रभाव पार्टीप्रतिको जनविश्वासमा परेको धारणा राखेका थिए। उनले प्रतिवेदनमा मात्रै समस्या स्वीकार गर्ने तर व्यवहारमा परिवर्तन नआउने हो भने त्यसले पार्टीलाई सुधारतर्फ नलैजाने बताएका थिए।
उनले पार्टी सुधारका लागि कार्यदलले मेहनत गरेर प्रतिवेदन तयार पारेको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्न नहुने धारणा राखेका थिए। जनताले व्यक्त गरेको असन्तुष्टि र दिएको सन्देशलाई नबुझी गरिने निर्णयले पार्टीलाई सही दिशामा नलैजाने उनको तर्क थियो।
यसअघि सोमबारको केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेललाई औपचारिक भूमिका नदिइएको समाचार सार्वजनिक भएको थियो। त्यसपछि उनी ओलीको गुण्डुस्थित निवास पुगेर बैठक सञ्चालनको तरिकाप्रति असहमति जनाएका थिए।
एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठन र नेतृत्वको शैलीलाई लिएर शीर्ष नेताहरूबीच मतभेद सार्वजनिक हुँदै आएका छन्। अध्यक्ष ओलीले भने नेतृत्व परिवर्तनलाई मात्र पार्टी पुनर्गठनको अर्थमा बुझ्न नहुने धारणा आफ्नो राजनीतिक प्रतिवेदनमार्फत राखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।