काठमाण्डौ । बडादसैँ र तिहारको ‘पिक सिजन’ सुरु भइरहेका बेला नेपाल वायुसेवा निगमका दुवै वाइडबडी जहाज एकैपटक ग्राउन्डेड भएका छन्। निगमको मुख्य आम्दानीको स्रोत मानिएका दुवै एयरबस ए–३३० सञ्चालनविहीन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै करोडौँ रुपैयाँ बराबरको आम्दानी गुमेको बताइएको छ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चार वटा एयरबस जहाज छन्। तीमध्ये दुई न्यारोबडी र दुई वाइडबडी हुन्। लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा मुख्य रूपमा प्रयोग हुँदै आएका वाइडबडीमध्ये ‘अन्नपूर्ण’ जापानको नारितामा ग्राउन्डेड छ भने ‘मकालु’ नियमित ठूलो मर्मतसम्भार अर्थात् ‘सी–चेक’का लागि इटालीमा रोकिएको छ।
निगमका प्राविधिक प्रवक्ता तथा इन्जिनियरिङ मेन्टेनेन्स विभागका वरिष्ठ प्राविधिक अधिकृत देवेन्द्र पुनका अनुसार नारिता उडानमा गएको ‘अन्नपूर्ण’को इन्जिनमा प्राविधिक समस्या देखिएपछि गत सोमबारदेखि जहाज उतै रोकिएको हो।
अर्को वाइडबडी ‘मकालु’लाई सी–चेकका लागि अगस्ट ९ मै इटाली पठाइएको भए पनि मर्मत सम्पन्न भएर अझै सञ्चालनमा फर्किएको छैन।
दुवै ठूला जहाज एकैपटक ग्राउन्डेड भएपछि निगमको अन्तर्राष्ट्रिय उडानको भार अहिले दुईवटा न्यारोबडी जहाजमा परेको छ। निगमले जापानबाहेक अन्य गन्तव्यमा उडान तालिका परिमार्जन गरी न्यारोबडीमार्फत सेवा दिइरहेको जनाएको छ। तर सीमित जहाजका कारण उडान तालिकामा असर परेको निगमले स्वीकार गरेको छ।
नेपाल एयरलाइन्सले नारिता, दुबई, दोहा, साउदी अरब, नयाँ दिल्ली, मुम्बई, बैंगलोर, ग्वान्झाउ, हङकङ, बैंकक र क्वालालम्पुरलगायत गन्तव्यमा उडान गर्दै आएको छ।
चाडपर्वको मुखमा उडान प्रभावित
दसैँ–तिहारका बेला विदेशमा रहेका नेपाली स्वदेश फर्किने भएकाले वायुसेवा कम्पनीका लागि यो वर्षकै व्यस्त र उच्च आम्दानी हुने समय मानिन्छ।
यही समयमा निगमका दुवै वाइडबडी सञ्चालनबाहिर हुँदा उडान प्रभावित भएका छन्। निगम स्रोतका अनुसार केही उडान रद्द वा पुनःतालिकीकरण गर्नुपर्दा यात्रुसमेत प्रभावित भएका छन्।
सी–चेकका लागि जहाजलाई लामो समयअघि विदेश पठाइए पनि मुख्य सिजन सुरु हुँदासम्म सञ्चालनमा फर्काउन नसकिएको विषयलाई लिएर निगमको व्यवस्थापनमाथि प्रश्न उठेको छ।
प्रवक्ता पुनले भने जहाजमा प्राविधिक समस्या आउनु सामान्य प्रक्रिया भए पनि निगमसँग जहाजको संख्या सीमित भएकाले एउटा जहाज ग्राउन्डेड हुँदा पनि उडानमा ठूलो प्रभाव देखिने बताएका छन्।
उनका अनुसार नारितामा रहेको ‘अन्नपूर्ण’ मर्मतपछि छिट्टै सञ्चालनमा आउने सम्भावना छ। इटालीमा सी–चेकमा रहेको ‘मकालु’ पनि चालु हप्ताभित्र नेपाल फर्किने तयारीमा रहेको निगमले जनाएको छ।
कति आम्दानी गुम्यो ?
निगमकै एक वरिष्ठ प्रशासनिक कर्मचारीका अनुसार २७४ सिट क्षमताको एउटा वाइडबडीले दैनिक औसतमा करिब २ करोड रुपैयाँसम्म आम्दानी गर्ने क्षमता राख्छ।
नारितामा एउटा वाइडबडीले भरिभराउ यात्रुसहित आवतजावत गर्दा औसतमा करिब ६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष आम्दानी हुने ती कर्मचारीको दाबी छ।
उनका अनुसार इटालीमा लामो समयदेखि रोकिएको ‘मकालु’ले मात्रै करिब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको अनुमान छ। नारितामा करिब एक सातादेखि ग्राउन्डेड ‘अन्नपूर्ण’बाट पनि करिब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमेको उनको दाबी छ।
दुवै जहाज सञ्चालनविहीन हुँदा निगमले दर्जनभन्दा बढी महत्वपूर्ण उडान रद्द गर्नुपरेको समेत स्रोतको भनाइ छ।
नारिता रुट निगमका लागि आकर्षक
निगमको तथ्यांकअनुसार गत जेठ र असारमा काठमाडौंबाट जापानको नारितासम्म ६ हजार २०९ यात्रुले यात्रा गरेका थिए भने नारिताबाट काठमाडौं आउने यात्रुको संख्या ५ हजार ४८३ थियो।
काठमाडौं–नारिता यात्रु तथा कार्गोबाट ती दुई महिनामा निगमले ४६ करोड ९९ लाख ८५ हजार ६३८ रुपैयाँ आम्दानी गरेको थियो।
त्यस्तै, नारिता–काठमाडौं यात्रु तथा कार्गोबाट थप ३२ करोड ८७ लाख ४६ हजार ५० रुपैयाँ आम्दानी भएको थियो।
मुख्य आम्दानी हुने सिजनमै दुवै वाइडबडी ग्राउन्डेड हुँदा निगमलाई आर्थिक क्षतिसँगै यात्रुको भरोसा र सेवा विश्वसनीयतामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।