काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक तथा संसदीय विषयमाथि छलफल हुने कार्यसूची छ।
बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
प्रतिनिधिसभाको बैठकसँगै आज संघीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिको बैठकसमेत बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।
समितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने संसद् सचिवालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।