बुधबार, आश्विन ७,२०८३ 03:03:54
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 03:03:54
Bizshala
Global IME Bank Limited

डाक्टर कुटपिट गर्नेलाई अब जरिवाना तिरेर उन्मुक्ति नपाइने, कैद र जरिवाना दुवै सजायको प्रस्ताव

Bizshala
डाक्टर कुटपिट गर्नेलाई अब जरिवाना तिरेर उन्मुक्ति नपाइने, कैद र जरिवाना दुवै सजायको प्रस्ताव
New Office

 

काठमाण्डौ । सरकारले डाक्टरसहित स्वास्थ्यकर्मीमाथि हातपात, कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी, तोडफोड र आगजनी गर्ने व्यक्तिमाथिको सजाय कडा बनाउने प्रस्तावसहित नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।

स्वास्थ्य मन्त्री निशा मेहेताले प्रतिनिधि सभामा दर्ता गराएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन विधेयक’मा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने व्यक्तिलाई कैद वा जरिवानामध्ये कुनै एक सजाय मात्र होइन, दुवै सजाय गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकले स्वास्थ्यकर्मीको परिभाषासमेत विस्तार गरेको छ। हालसम्म सम्बन्धित परिषद्मा दर्ता भएका व्यक्तिलाई मात्र स्वास्थ्यकर्मीका रूपमा समेटिएकोमा अब मेडिकल तथा एलाइड साइन्स अध्ययनरत र इन्टर्नसिप गरिरहेका विद्यार्थीलाई समेत स्वास्थ्यकर्मीको परिभाषाभित्र ल्याउने प्रस्ताव गरिएको छ।

यससँगै इन्टर्नसिप गरिरहेका डाक्टर तथा नर्सले पनि स्वास्थ्यकर्मीका रूपमा कानुनी सुरक्षा पाउनेछन्।

विधेयकले स्वास्थ्यकर्मीको सुरक्षाको दायरा पनि फराकिलो बनाएको छ। प्रचलित ऐनमा आर्थिक सुरक्षालाई मात्र स्पष्ट रूपमा समेटिएकोमा प्रस्तावित संशोधनले भौतिक, आर्थिक, मानसिक तथा मनोसामाजिक सुरक्षालाई समेत समेटेको छ।

हालको ऐनमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक चोट पुर्‍याउन नहुने व्यवस्था रहेकोमा विधेयकले ‘हातपात’लाई समेत स्पष्ट रूपमा समावेश गरेको छ। त्यस्तै, स्वास्थ्य संस्थामा हतियारसहित आपराधिक बल प्रदर्शन गर्न नपाइने व्यवस्था पनि थपिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आगजनीमा कैद र जरिवाना दुवै

हालको कानुनमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

नयाँ विधेयकले भने ‘वा’ को सट्टा कैद र जरिवाना दुवै सजाय गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ। अर्थात्, पाँच लाख रुपैयाँ जरिवाना तिरेर मात्र आगजनीमा संलग्न व्यक्ति उम्कन पाउने अवस्था अन्त्य गर्ने तयारी गरिएको छ।

त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी पुर्‍याउने, स्वास्थ्यकर्मी वा संस्थाका कर्मचारीलाई कुटपिट, हातपात वा शारीरिक चोट पुर्‍याउने तथा हतियारसहित आपराधिक बल प्रदर्शन गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ।

हालको ऐनमा यस्ता कसुरमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवानामध्ये कुनै एक सजाय हुने व्यवस्था छ।

तालाबन्दी, धम्की र गालीगलौजमा पनि सजाय कडा

स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचारमा बाधा पुर्‍याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाका कर्मचारीलाई धम्की दिने, गालीगलौज गर्ने तथा अभद्र वा अपमानजनक व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

हालको ऐनमा यस्ता कसुरमा कैद वा जरिवानामध्ये कुनै एक सजाय हुने व्यवस्था भएकाले जरिवाना तिरेर उन्मुक्ति पाउने अवस्था थियो।

प्रस्तावित संशोधन पारित भए स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने हिंसा, तोडफोड र अवरोधका घटनामा सजाय थप कडा हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.