काठमाण्डौ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न हुने शिक्षकमाथि कारबाही गर्ने सरकारी निर्देशन कार्यान्वयन गर्नुपर्ने जनाएको छ।
महासङ्घका महासचिव तुलबहादुर थापामगरले शिक्षकहरूको प्रत्यक्ष राजनीतिक संलग्नता उपयुक्त नहुने बताए।
उनले वर्तमान परिस्थितिलाई समेत ध्यानमा राख्दै शिक्षकहरूले पेशागत मर्यादा कायम गर्नुपर्ने धारणा व्यक्त गरे।
‘प्रत्यक्ष संलग्नता देखिनु राम्रो होइन। वर्तमान परिस्थितिलाई ध्यानमा राख्नुपर्छ,’ थापामगरले भने।
शिक्षकहरू राजनीतिक दलका कार्यक्रम तथा गतिविधिमा सहभागी भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकहरूको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका थिए।
शिक्षामन्त्री पोखरेलले राजनीतिक गतिविधिमा संलग्न भएको पाइए सम्बन्धित शिक्षकमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएका छन्।
यसैबीच, विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरूले पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइसकेका छन्।
सरकारले शिक्षकको राजनीतिक संलग्नतामाथि निगरानी बढाइरहेका बेला शिक्षक महासङ्घले समेत प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्नता उपयुक्त नभएको धारणा सार्वजनिक गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।