काठमाण्डौ । तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवाका पाँच घर बगाएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि नदी आसपासका क्षेत्रमा जोखिम बढे पनि स्थानीय प्रशासनको सक्रियताका कारण मानवीय क्षति हुनबाट जोगिएको छ।
शनिबार दिउँसोदेखि तिनाउ नदीमा पानीको बहाव बढेपछि बिनापाते, बुद्धनगर, मजुवा र टप मजुवा क्षेत्रमा नदी किनारमा बसोबास गर्ने सयौं स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।
बाढीको जोखिम बढेपछि उनीहरूलाई नवीन स्कुल, उजिरसिंह माध्यमिक विद्यालय, जितगढीस्थित मन्दिरलगायत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
नदीमा पानीको सतह बढ्न थालेपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, वडाध्यक्ष रामचन्द्र खनाल, वडा सदस्य नकुल शाहीसहितको टोलीले विभिन्न जोखिमयुक्त क्षेत्रमा पुगेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेका थिए। जनचेतनाका लागि उनीहरूले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणसमेत गरेका थिए।
इलाका प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जनप्रतिनिधिसहितको टोली जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको थियो। उद्धार तथा स्थानान्तरणका लागि सुरक्षा निकाय र स्थानीय तहका टोलीहरू खटिएका थिए।
यसैबीच, पाल्पाका विभिन्न क्षेत्रमा पनि पानीको सतह निरन्तर बढेपछि तिनाउको तल्लो तटीय क्षेत्रमा त्रास बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।