काठमाण्डौ । ऐतिहासिक सम्पदा संरक्षण, साहसिक पर्यटन र स्थानीय अर्थतन्त्रलाई एकसाथ जोड्ने उद्देश्यसहित ३९०.५ किलोमिटर लामो ‘फोर्ट स्टेज राइड’को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ।
विश्व पर्यटन दिवसका अवसरमा अघि बढाइएको अभियानअन्तर्गत आगामी डिसेम्बर २०२६ मा साइकलिङ उत्सव आयोजना गर्ने तयारी भइरहेको छ। बागमती प्रदेशका विभिन्न ऐतिहासिक गढी तथा १५ स्थानीय तहलाई एउटै पर्यटकीय करिडोरमा जोड्ने लक्ष्यसहित स्टोरीसाइकलले अभियान अघि बढाएको हो।
तेस्रो संस्करणको पूर्वतयारीस्वरूप ऐतिहासिक हरिहरपुरगढीमा विशेष अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएको छ। हरिहरपुरगढी गाउँपालिकाको संयोजन र स्टोरीसाइकलको आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, युवा, इतिहासका जानकार तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा हरिहरपुरगढीको ऐतिहासिक महत्त्व, सामुदायिक वनको अवस्था र पर्यटन विकासका सम्भावनाबारे छलफल भएको थियो।
वनको अग्नि रेखालाई साइकल लेन बनाउने प्रस्ताव
अन्तर्क्रियाका क्रममा सामुदायिक वन क्षेत्रभित्र बनाइने अग्नि रेखालाई वातावरणमैत्री साइकल लेनका रूपमा विकास गर्न सकिने प्रस्ताव अघि सारिएको छ।
यस अवधारणालाई कार्यान्वयन गर्न सकिए वन संरक्षण, आगलागी नियन्त्रण तथा साहसिक पर्यटन प्रवर्द्धनलाई एउटै संरचनामा जोड्न सकिने आयोजकको भनाइ छ।
विशेषगरी ग्रामीण तथा वन क्षेत्र भएर जाने साइकल रुटले स्थानीय स्तरमा होमस्टे, खाद्य सेवा, स्थानीय उत्पादन तथा अन्य पर्यटन व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तीन मुख्य आधारमा अभियान
अभियानका टोली प्रमुख दीपक श्रेष्ठका अनुसार तेस्रो संस्करणको तयारी विगतका अध्ययन तथा अघिल्ला संस्करणबाट प्राप्त अनुभवका आधारमा अघि बढाइएको छ।
अभियानले मुख्यतः न्यून–कार्बन पर्यटन, स्थानीय अर्थतन्त्रको प्रवर्द्धन र ऐतिहासिक सम्पदाको पुनर्जागरणलाई प्राथमिकता दिएको छ।
यसअन्तर्गत पर्यटन गतिविधिबाट हुने कार्बन उत्सर्जन २० देखि ३० प्रतिशतसम्म घटाउने, पर्यटनबाट हुने आम्दानीको कम्तीमा ८० प्रतिशत स्थानीय होमस्टे तथा युवा व्यवसायीसम्म पुर्याउने र ऐतिहासिक गढी तथा पुराना पदमार्गलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ।
स्वास्थ्य, खेल र पर्यटनलाई जोड्ने प्रयास
टोली सदस्य तथा जनस्वास्थ्य विज्ञ दीप राजा थापाका अनुसार साइकल पर्यटनले साहसिक गतिविधिसँगै शारीरिक तथा सामाजिक सुस्वास्थ्यलाई पनि प्रवर्द्धन गर्न सक्छ।
उनले पर्माकल्चर, माइन्डफुलनेस, स्थानीय संस्कृति तथा इतिहासलाई अन्तर्राष्ट्रिय पर्यटकमाझ पुर्याउन साइकल यात्रा प्रभावकारी माध्यम बन्न सक्ने बताए।
नेपाल साइकल संघका सचिव तथा प्राविधिक टोली प्रमुख देवेन्द्र बस्नेतले पनि प्रस्तावित ट्रेलले नेपालमा लामो दूरीको साहसिक साइक्लिङ र वातावरणमैत्री पर्यटनको सम्भावनालाई थप विस्तार गर्ने बताए।
‘चक्रिय ट्रेल’को अवधारणा
नयाँ रुटलाई ‘चक्रिय ट्रेल’का रूपमा विकास गरिएको छ।
यसअघि अध्ययन गरिएको ‘एकीकरण पदमार्ग’ र नमोबुद्धदेखि फिक्कलसम्मको ‘ग्रेट महाभारत ट्रेल’लाई संयोजन गरी नयाँ चक्रिय मार्ग तयार गरिएको आयोजकले जनाएको छ।
स्टोरीसाइकलका निर्देशक तथा टिम लिड सौरभ ढकालका अनुसार विगतमा अध्ययन गरिएका विभिन्न रुटलाई एकीकृत गरी दीर्घकालीन पर्यटकीय करिडोर बनाउने योजना अघि बढाइएको हो।
काभ्रेको खोपासी–पात्लेखेत हुँदै सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई जोड्ने करिडोरमा स्थानीय हरित आतिथ्य, रैथाने उत्पादनको खपत तथा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिने योजना रहेको उनले बताए।
यस्तो हुनेछ ३९०.५ किलोमिटर लामो रुट
प्रस्तावित साइकल यात्रा ललितपुर महानगरपालिका–६ कनिबहालबाट सुरु हुनेछ।
त्यसपछि लुभु, लामाटार, पनौती, नमोबुद्ध, बालुवाटार, हायुगाउँ, कोटगाउँ, बन्दीपुर, नागी मजुवा, सिन्धुलीगढी, सिन्धुलीमाढी, मरिण, पञ्चकन्या पोखरी, घण्टे, हरिहरपुरगढी, फापरबारी, फूर्केचौर, मकवानपुरगढी र टीकाभैरव हुँदै पुनः कनिबहालमै पुगेर यात्रा टुङ्गिनेछ।
प्रस्तावित करिडोरले बागमती प्रदेशका ऐतिहासिक किल्ला, ग्रामीण बस्ती, वन क्षेत्र र प्राकृतिक गन्तव्यलाई एउटै पर्यटन परिपथमा जोड्ने लक्ष्य राखेको छ।
तेस्रो संस्करणमार्फत साइकल पर्यटनलाई केवल खेल गतिविधिका रूपमा मात्र नभई ऐतिहासिक सम्पदा संरक्षण, स्थानीय रोजगारी, ग्रामीण अर्थतन्त्र र दिगो पर्यटनसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।