काठमाण्डौ । निरन्तरको वर्षासँगै आएको पहिरो र बाढीले पाल्पा र पर्वतमा ठूलो क्षति पुर्याएको छ। पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् भने पर्वतमा कालीगण्डकी नदीले पाँच वटा घर बगाएको छ।
पाल्पाको माथागढी गाउँपालिका–३ कसेनीस्थित भैँसीकट्टामा आइतबार बिहान करिब ५ बजे खसेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरेको छ।
वडा अध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार घरमा सुतिरहेका ७५ वर्षीय लिलबहादुर घर्ती, १७ वर्षीया दिना घर्ती र १५ वर्षीया झरना घर्ती बेपत्ता भएका छन्।
पाल्पा प्रहरीले झरना छिमेकी मोतीलाल घर्तीकी छोरी रहेको जनाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि स्थानीयवासी र सुरक्षाकर्मी परिचालन गरिएको छ।
पर्वतमा पाँच घर बगे, दुई दर्जनभन्दा बढी जोखिममा
उता, लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पाँच वटा घर बगाएको छ।
थप दुई दर्जनभन्दा बढी घर जोखिममा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार कालीगण्डकीको बहाव लगातार बढिरहेको छ र नदी बस्ती नजिकै पुगेको छ।
नदीले सहस्रधारा क्षेत्रमा सडकसमेत कटान गरिरहेको छ। सडकको भाग बगाएपछि पर्वत र बागलुङ जोड्ने यातायातसमेत प्रभावित भएको छ।
मुस्ताङ जाने सडक र पुलमा पनि क्षति
कालीगण्डकीको बाढीले मुस्ताङ जाने सडकखण्डअन्तर्गत पोखरेबगरस्थित पुलमा समेत क्षति पुर्याएको छ।
पुलको एउटा भाग बगिसकेको र बाँकी संरचनासमेत जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ।
लगातारको वर्षाका कारण कालीगण्डकीको जलस्तर थप बढ्न सक्ने भएकाले नदी किनारका बस्ती, सडक तथा पुल संरचनामा उच्च जोखिम रहेको प्रशासनले जनाएको छ।
प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँतर्फ सर्न आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।