काठमाडौं । फिल्म सुरु हुने समय भनेर टिकटमा उल्लेख गरिएपछि पनि दर्शकलाई २२ मिनेटसम्म विज्ञापन र प्रचार सामग्री देखाएको विषयमा भारतको हैदराबादस्थित एक सिनेप्लेक्सले ७५ हजार भारतीय रुपैयाँ तिर्नुपर्ने भएको छ। हैदराबाद जिल्ला उपभोक्ता विवाद निवारण आयोगले दर्शकको उजुरीमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
घटना २० जुन २०२५ को हो। अभिनेता धनुष र नागार्जुन अभिनीत फिल्म ‘कुबेरा’ हेर्न एक दर्शकले साथीसँग दुईवटा टिकट काटेका थिए। टिकट र बुकिङ वेबसाइट दुवैमा फिल्म सुरु हुने समय राति १०:३५ बजे उल्लेख थियो। उनीहरू पाँच मिनेटअघि नै हलमा पुगे पनि सिनेप्लेक्सले विज्ञापन र प्रचार सामग्री देखाउन थाल्यो। फिल्म भने राति १०:५२ बजे मात्रै सुरु भयो।
फिल्म ढिलो सुरु हुँदा आफ्नो पूर्वनिर्धारित योजनामा असर परेको भन्दै दर्शकले उपभोक्ता आयोगमा उजुरी दिए। उनका अनुसार उनी अपेक्षा गरेभन्दा करिब एक घण्टा ढिलो, बिहान ३ बजे घर पुगेका थिए।
करिब एक वर्षको सुनुवाइपछि आयोगले ११ सेप्टेम्बर २०२६ मा दर्शकसँग अनुचित व्यापारिक व्यवहार भएको ठहर गर्यो। आयोगले व्यावसायिक लाभका लागि देखाइएका विज्ञापन र प्रचार सामग्रीले फिल्म सुरु हुन ढिलाइ भएको निष्कर्ष निकालेको छ।
आयोगको आदेशअनुसार सिनेप्लेक्सले उजुरीकर्तालाई क्षतिपूर्तिबापत २० हजार भारु र मुद्दा खर्चबापत ५ हजार भारु दिनुपर्नेछ। बाँकी ५० हजार भारु जिल्ला उपभोक्ता कल्याण कोषमा जम्मा गर्नुपर्नेछ। यसरी कुल रकम ७५ हजार भारु पुगेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।