काठमाडौं। मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी खुलाउन ब्लास्ट गर्ने योजना तत्काल कार्यान्वयन हुन सकेको छैन।
पोखराबाट पुगेको नेपाली सेनाको प्राविधिक टोलीले ब्लास्टका लागि उपयुक्त चट्टानी क्षेत्र नभेटेपछि विकल्पका रूपमा दुई वटा उपकरण प्रयोग गरेर नदीको बहाव खुलाउने काम भइरहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदी ढुङ्गा, गिट्टी, बालुवा, माटो, रुख तथा लेदोले थुनिएकाले ब्लास्ट गर्न आवश्यक ठोस चट्टान भेटिएको छैन।
अविरल वर्षापछि घट्टेखोलाबाट आएको गेग्रान थुप्रिँदा मर्स्याङ्दी थुनिएको हो। थुनिएको स्थानबाट आंशिक रूपमा पानी निकास हुन थाले पनि करिब ४ सय मिटर लामो, ८० मिटर चौडा र करिब २० फिटसम्म गहिरो ताल कायमै रहेको बताइएको छ।
लगातारको वर्षाले मनाङका विभिन्न क्षेत्रमा सडक, विद्युत् र टेलिफोन सेवा समेत प्रभावित भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।