काठमाण्डौ । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ९२ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९२ लाख ४१ हजार ४२६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले कुल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ।
उक्त सेयर निष्कासनको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ। मुनलाईट हाइड्रोपावर र ज्योति क्यापिटलबीच सेयर प्रत्याभूति सम्बन्धी सम्झौता भएको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावर कम्पनीका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार मुनलाईट हाइड्रोले सर्वसाधारणका लागि निष्कासन गर्ने सम्पूर्ण ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ।
प्रत्याभूतिकर्ताको व्यवस्था भएपछि कम्पनीको प्रस्तावित सार्वजनिक सेयर निष्कासन प्रक्रियाले थप औपचारिकता पाएको छ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रुपैयाँ छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।