काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा बैंकिङ समूहका सेयरप्रति लगानीकर्ताको चासो विस्तारै बढ्न थालेको देखिन्छ ।
तुलनात्मक रूपमा न्यून मूल्य, नियमित लाभांशको सम्भावना र दीर्घकालीन लगानीका हिसाबले वाणिज्य बैंकका सेयर आकर्षक मानिँदै आएका बेला संस्थागत लगानीकर्ता म्युचुअल फण्डहरूले समेत बैंकिङ सेयरलाई पोर्टफोलियोमा प्राथमिकता दिएका छन् ।
आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको विवरण हेर्दा ११ म्युचुअल फण्डले ९ वटा वाणिज्य बैंकको सेयरमा लगानी गरेको देखिन्छ । यसले म्युचुअल फण्डहरूको रोजाइमा बैंकिङ क्षेत्र अझै महत्वपूर्ण लगानी गन्तव्य रहेको संकेत गरेको छ । विशेषगरी सानिमा, एभरेष्ट, प्राइम र एनएमबी बैंकको सेयरमा धेरै फण्डको उपस्थिति देखिनुले यी बैंकप्रति संस्थागत लगानीकर्ताको तुलनात्मक आकर्षण बढी रहेको देखाएको छ ।
आर्थिक वर्ष २०८३/८४ को अपरिष्कृत भदौ मसान्तसम्मको आय–व्यय विवरणअनुसार ११ म्युचुअल फण्डले विभिन्न ९ वाणिज्य बैंकको सूचीकृत सेयरमा लगानी गरेका छन् ।
म्युचुअल फण्डहरूको रोजाइमा सबैभन्दा अगाडि सानिमा बैंक देखिएको छ । सानिमा बैंकको सेयरमा ८ वटा म्युचुअल फण्डले लगानी गरेका छन् । त्यस्तै एभरेष्ट बैंक र प्राइम कमर्सियल बैंकमा समान ७–७ वटा फण्डले लगानी गरेका छन् ।
एनएमबी बैंकमा ६ वटा म्युचुअल फण्डको लगानी छ भने ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा समान ४–४ वटा फण्डले लगानी गरेका छन् ।
त्यस्तै माछापुच्छ्रे बैंकमा ३ वटा, नबिल बैंकमा २ वटा र एनआईसी एशिया बैंकमा एउटा म्युचुअल फण्डले लगानी गरेको देखिएको छ ।
सानिमा बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, गरिमा सुवर्ण योजना, सिटिजन्स सदाबहार योजना, सिटिजन्स सुपर ३०, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम र प्रभु सेलेक्टलगायत फण्डको लगानी रहेको छ ।
एभरेष्ट बैंकमा हिमालयन ८०–२०, गरिमा सुवर्ण योजना, सिटिजन्स सन्तुलित योजना, सिटिजन्स सुपर ३०, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, प्रभु स्मार्ट र प्रभु सेलेक्टले लगानी गरेका छन् ।
प्राइम कमर्सियल बैंकमा हिमालयन ८०–२०, सिटिजन्स सदाबहार योजना, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, प्रभु स्मार्ट, प्रभु सेलेक्ट, सानिमा फ्लेक्सी र सानिमा इक्विटीको लगानी देखिन्छ ।
एनएमबी बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, प्रभु स्मार्ट, प्रभु सेलेक्ट, सानिमा फ्लेक्सी र सानिमा इक्विटीले लगानी गरेका छन्।
ग्लोबल आइएमई बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम र प्रभु सेलेक्टको लगानी छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, सिटिजन्स सन्तुलित योजना र सिटिजन्स सुपर ३० ले लगानी गरेका छन् ।
त्यस्तै नबिल बैंकमा हिमालयन ८०–२० र सिटिजन्स सुपर ३०, माछापुच्छ्रे बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना र सानिमा इक्विटीको लगानी छ । एनआईसी एशिया बैंकमा भने हिमालयन ८०–२० को मात्रै लगानी रहेको छ ।
समग्रमा हेर्दा म्युचुअल फण्डहरूको बैंकिङ सेयरप्रतिको रुचि व्यापक भए पनि सानिमा, एभरेष्ट, प्राइम र एनएमबी तुलनात्मक रूपमा बढी रोजाइमा परेको देखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।