काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार आफ्नो पूरा कार्यकाल अर्थात् पाँच वर्ष नै चल्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै लामिछानेले पछिल्लो समय ‘सरकार ढल्दैछ’ भन्ने चर्चा सुनिन थालेको बताए। तर सरकार ढल्ने सम्भावना नरहेको उनको दाबी थियो।
उनले व्यङ्ग्य गर्दै सरकार ढल्ने भविष्यवाणी गर्नेहरू नै सरकार नढलेपछि निराश भएर ढल्ने टिप्पणी गरे।
लामिछानेले भने, “सरकार अहिले ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ कि छठमा ढल्छ भन्ने सुन्छु। ढल्न त ढल्छ, तर यो सरकार नढलेको देखेर भन्ने मान्छे चाहिँ बेहोस भएर ढल्छ। सरकार बिल्कुल ढल्दैन, पाँचै वर्ष चल्छ।”
उनले सरकार गठन गर्दा इतिहासलाई साक्षी राखेको दाबी गर्दै लोकतन्त्रको भविष्यबारे चिन्ता नलिन आग्रह गरे।
लामिछानेले पहिचान र अधिकारका मुद्दालाई स्थापित गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए। साथै, आन्दोलनमार्फत सरकार ढाल्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै लोकतन्त्रलाई बलियो बनाउने मुख्य माध्यम निर्वाचन नै भएको धारणा राखे।
उनले लोकतान्त्रिक प्रक्रियामार्फत जनताको मत र जनादेशलाई सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।