काठमाण्डौ । सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ।
परियोजना अघि बढाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद् बैठकपछिको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले प्रारम्भिक चरणमा देशका विभिन्न स्थानमा छनोट गरिएका २७ वटा खेलकुद आयोजनामा निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइने बताए।
उनका अनुसार परियोजनामा क्रिकेट र फुटबल मैदानसँगै कभर्ड हलसमेत निर्माण गरिनेछ। लामो समयदेखि अघि बढ्न नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई गति दिन यो सम्झौता महत्वपूर्ण हुने सरकारको अपेक्षा छ।
मन्त्री पोखरेलले देशभरका सबै खेलकुद पूर्वाधार एकैपटक निर्माण तथा स्तरोन्नति गर्न बजेट र प्राविधिक सीमितता रहेको बताए। त्यसैले प्राथमिकताका आधारमा २७ वटा आयोजनाबाट काम सुरु गर्न लागिएको उनको भनाइ छ।
सरकारका अनुसार नयाँ खेलकुद पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार हुनुका साथै खेलाडीलाई प्रशिक्षण र प्रतियोगिताका लागि आवश्यक सुविधा उपलब्ध हुनेछ।
छनोट भएका स्थानमा तत्काल निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री पोखरेलले बताए। आगामी दिनमा आवश्यकताअनुसार थप खेलकुद पूर्वाधारमा लगानी विस्तार गर्ने सरकारको योजना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।