काठमाण्डौ । चालु आर्थिक वर्ष सुरु भएदेखि बजेट शून्यताको सामना गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ। बजेट अभावमा विकास निर्माण, नियमित कामकाज र स्वास्थ्य सेवासमेत प्रभावित भइरहेका बेला सरकारले प्रदेशसभामा बजेट पेस गर्ने तयारी गरेको हो।
सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार बजेटसम्बन्धी निर्णय गर्न दिउँसो १ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। त्यसपछि दिउँसो २ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरिनेछ। ‘आज दिउँसो २ बजे पक्का बजेट आउँछ,’ रावलले भने।
अघिल्लो सरकारले प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित हुन नसक्दा प्रदेश सरकार चालु आर्थिक वर्षको सुरुदेखि नै बजेटविहीन छ। यसको असर विकास आयोजनासँगै सार्वजनिक सेवा प्रवाहमा परेको छ भने स्वास्थ्य संस्थाहरूमा औषधिको अभावसमेत हुन थालेको छ।
बजेट ल्याउने विषयमा सरकारभित्रै देखिएको अन्योल र विवादले प्रदेशसभा बैठक पटक–पटक प्रभावित हुँदै आएको थियो। आज बजेट प्रस्तुत भए लामो समयदेखिको बजेट शून्यता अन्त्य गर्ने प्रक्रिया अघि बढ्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।