काठमाण्डौ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको आपतकालीन प्रतिकार्य सुरु गरेको छ।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता सुनिश्चित गर्न स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको हो।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार केन्द्रले सम्बन्धित प्रदेश तथा स्थानीय तहका निकायसँग समन्वय गर्दै घटनाको अवस्था निरन्तर अनुगमन गरिरहेको छ।
बाढीबाट भएको क्षतिको वास्तविक अवस्था, स्वास्थ्य संस्थाहरूको स्थिति र प्रभावित नागरिकको स्वास्थ्य सुरक्षासम्बन्धी विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशअन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन एवं सूचना तथा सञ्चार केन्द्र (PHEICC) लाई समेत सक्रिय बनाइएको छ। मातहतका हब तथा स्याटेलाइट अस्पताल सञ्जाल र सम्बन्धित सरोकारवाला निकायलाई सतर्क तथा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
त्यस्तै, गण्डकी प्रदेशको जिल्ला स्वास्थ्य कार्यालय गोरखा, अस्पताल सञ्जाल तथा स्थानीय स्वास्थ्य संयोजकहरूसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको छ।
मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहायता आवश्यक परे मन्त्रालयको निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।
यसैगरी राष्ट्रिय ट्रमा सेन्टरसँग समन्वय गरी आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी आकस्मिक चिकित्सकीय टोलीसमेत तयारी अवस्थामा राख्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घटनासम्बन्धी प्राप्त विवरणको पुष्टि तथा अद्यावधिक गर्ने काम जारी रहेको जनाएको छ। बाढीबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक जनशक्ति तथा स्वास्थ्य सेवा परिचालन गर्ने तयारी गरिएको हो।
यसैबीच, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले गोरखा, लमजुङ र तनहुँका द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपतकालीन चिकित्सकीय टोलीलाई समेत तयारी अवस्थामा राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।