काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ‘ऊर्जा युद्धविराम’ गर्ने सहमति भएको दाबी गरेका छन्। युक्रेनले यस्तो कदमलाई समर्थन गर्ने जनाएको छ भने रुसले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिकी राष्ट्रपति ट्रम्पले ऊर्जा युद्धविराम तत्कालै लागू हुने दाबी गरे पनि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरुमा ट्रम्पको घोषणाप्रति आश्चर्य व्यक्त गरेका थिए। पछि उनले रुसले पनि सहमति जनाएमा युक्रेन यस्तो युद्धविरामका लागि तयार रहेको बताए। तर, ट्रम्पको घोषणापछि पनि रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरेको आरोप उनले लगाएका छन्।
ट्रम्पले युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्र तथा ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न आग्रह गर्दै आएका छन्। युक्रेनले भने यस्ता आक्रमणलाई रुसको युद्ध सञ्चालनका लागि आवश्यक आम्दानी घटाउने महत्त्वपूर्ण माध्यम बताउँदै आएको छ। ट्रम्पको आग्रह रुसले हालै गरेको डिजेल आपूर्ति सम्झौतासँग पनि जोडिएको छ। उक्त सम्झौताअनुसार रुसले अमेरिकासहित विश्व बजारमा डिजेल आपूर्ति गर्नेछ।
रुसी आयातमाथिका प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्ने यो सम्झौताको आलोचना बढिरहेको छ। जेलेन्स्कीले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको उपहारको संज्ञा दिएका छन्। युरोपेली अधिकारीहरूका साथै ट्रम्पकै रिपब्लिकन पार्टीका केही अमेरिकी राजनीतिज्ञले पनि सम्झौताको समर्थन गरेका छैनन्।
इरानसँगको युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य बढेपछि अमेरिकी राष्ट्रपति ट्रम्प घरेलु इन्धन मूल्य घटाउने दबाबमा छन्। आगामी मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य नियन्त्रण गर्ने उनको पछिल्लो प्रयासका रूपमा डिजेल आपूर्ति सम्झौतालाई हेरिएको छ। इन्धनको मूल्यवृद्धिले अमेरिकी उपभोक्तालाई प्रत्यक्ष असर पारेको छ भने त्यसको प्रभाव समग्र वस्तु तथा सेवाको मूल्यवृद्धिमा समेत परेको छ। यसले अमेरिकी जनतामाझ ट्रम्पको लोकप्रियतामा पनि असर पुर्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।