काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति गरेको घोषणा गरेपछि आपूर्ति बढ्ने आशामा तेलको मूल्यमा गिरावट आएको हो। यसैबीच, हुथी विद्रोहीको आक्रमणपछि इरानले साउदी अरेबियासँग पनि सम्पर्क गरेको छ।
अन्तर्राष्ट्रिय बजारको मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको डिसेम्बरमा डेलिभरी हुने वायदा मूल्य १.६५ प्रतिशतले घटेर प्रतिब्यारेल १०२.९९ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको नोभेम्बर डेलिभरीको वायदा मूल्य १.९२ प्रतिशतले घटेर प्रतिब्यारेल ९०.०९ अमेरिकी डलर कायम भएको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत रुस र युक्रेनबीच तत्कालै लागू हुने गरी ऊर्जा क्षेत्रमा युद्धविराम भएको घोषणा गरेका थिए। उनले दुवै पक्ष यसमा सहमत भएको उल्लेख गर्दै सम्झौता उल्लङ्घन नगर्न आग्रह गरेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सामाजिक सञ्जालमार्फत युक्रेन युद्धविरामको पक्षमा रहेको बताएका छन्। उनले रुसले पनि यसलाई समर्थन गर्नु महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
अमेरिकासँगको सम्झौतापछि रुसी ऊर्जा आपूर्ति बढ्ने सम्भावना पनि बढेको छ। ट्रम्पले गत शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ताका क्रममा भएको सहमतिअनुसार रुसले विश्व बजारमा ४० लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्ने बताएका थिए।
यसैबीच, साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघ्चीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान बिन अब्दुल्लाहसँग टेलिफोन वार्ता गरेका छन्। उनीहरूबीच क्षेत्रीय तनावका पछिल्ला घटनाक्रम र त्यसलाई सम्बोधन गर्ने प्रयासबारे छलफल भएको थियो।
अल जजिराका अनुसार अराघ्चीले साउदी अरब र यमनका हुथी विद्रोहीबीच संवाद सुरु गराउन सहयोग गर्न इरान तयार रहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।