काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा तथा प्याकेज बिक्री गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
प्राधिकरणका अनुसार निर्देशन पालना नगरेको, स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको र स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो।
जरिवानामा पर्ने कम्पनीमा ब्रोडलिङ्क, क्लासिक टेक, वेब सर्फर, फाइबरवर्ल्ड, भायानेट, एरोनेट, डिश मिडिया नेटवर्क, वाइफाइ नेपाल, सिजी कम्युनिकेसन, वर्ल्डलिङ्क, फर्स्ट लिङ्क, पोखरा इन्टरनेट, टेकमाइन्ड्स नेटवर्क र सुबिसु रहेका छन्।
प्राधिकरणले स्वीकृतिबिनाका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन दिँदै त्यस्ता सेवाका कारण ग्राहकलाई क्षति पुगेको भए मागका आधारमा क्षतिपूर्ति भराउन पनि सम्बन्धित कम्पनीलाई भनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।