काठमाण्डौ । नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी सङ्घ ठमेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नगदसहित खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित भई काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेका नागरिकलाई सङ्घले पाँच लाख ५१ रुपैयाँ नगदसहित खाद्यान्न र अन्य राहत सामग्री उपलब्ध गराएको हो।
सहयोग रकम तथा सामग्री सङ्घका अध्यक्ष रुपेश गुरुङले गोसाइँकुण्ड गाउँपालिका–२ की कार्यवाहक वडाध्यक्ष किप्पा नगरकोटीलाई सोमबार साँझ हस्तान्तरण गरेका हुन्।
मुस्ताङ गुम्बामा हाल रसुवाका १५५ परिवारका ३०० भन्दा बढी नागरिकले आश्रय लिइरहेको बताइएको छ।
सङ्घका अध्यक्ष गुरुङले बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री गुमाएका परिवारको तत्काल आवश्यकता सम्बोधन गर्न सहयोग गरिएको बताए। प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएको उनको भनाइ छ।
सहयोग अभियानका संयोजक प्रकाश श्रेष्ठ ‘टाइगर’का अनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई नगदसँगै १२ बोरा चामल, तीन बोरा दाल, एक बोरा चिउरा, ३० कार्टुन चाउचाउ तथा महिलाका लागि स्यानिटरी प्याडसमेत वितरण गरिएको छ।
सङ्घले राहतले प्रभावित परिवारको दैनिक जीवनयापनमा केही सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका सल्लाहकार कर्मा घले र श्री शाही, सचिव सबु तामाङ तथा कोषाध्यक्ष रमेशकुमार श्रेष्ठलगायतको सहभागिता थियो।
सङ्घले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, निजी क्षेत्र, विभिन्न संघसंस्था र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।