काठमाण्डौ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ।
कम्पनीका अनुसार भक्तपुरमा सञ्चालनमा आएको नयाँ केन्द्रले बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल थप विस्तार गर्नेछ। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा सर्भिस, स्पेयर पार्ट्स र नियमित मर्मतसम्भारको पहुँच सहज बनाउने उद्देश्यले नयाँ पूर्वाधार विस्तार गरिएको साइमेक्स इंकले जनाएको छ।
भक्तपुरस्थित सर्भिस सेन्टर बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले उद्घाटन गरेका हुन्।
नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स एउटै स्थानमा उपलब्ध हुने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको छ।
सर्भिस सेन्टरमा आठवटा सर्भिस बे छन्। तीमध्ये पाँचवटा सञ्चालनमा आइसकेका छन् भने बाँकी तीनवटा भविष्यमा सर्भिसको माग बढेसँगै प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ। सोही परिसरमा सवारी बिक्रीका लागि शोरुमसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी छ।
कम्पनीले भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचान झल्किने गरी सेन्टरको डिजाइन तयार गरिएको जनाएको छ। बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सम्पदासँग जोडेर ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो।
कम्पनीका अनुसार नयाँ केन्द्रबाट सवारी खरिददेखि नियमित मर्मतसम्भार र स्पेयर पार्ट्ससम्मका सेवा एउटै स्थानबाट उपलब्ध हुनेछन्।
भक्तपुरको सर्भिस सेन्टर उद्घाटनसँगै काठमाडौंको डल्लुमा नयाँ बीवाईडी सर्भिस सेन्टर निर्माणको शिलान्यास पनि गरिएको छ। डल्लुको केन्द्र सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा बीवाईडीको सर्भिस क्षमता थप विस्तार हुने कम्पनीको अपेक्षा छ।
शिलान्यास कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका झाङ जी, फेङ एरदोङ, साउथ एसिया रिजनका हेड अफ आफ्टर सेल्स लिउ सियाओफेङ तथा साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठ सहभागी थिए।
साइमेक्स इंकले विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामा पनि लगानी बढाइरहेको जनाएको छ।
भक्तपुरमा थ्रीएस सेन्टर सञ्चालन र डल्लुमा नयाँ सर्भिस सेन्टर निर्माण सुरु हुनुले कम्पनीको ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ अवधारणाअनुसार नेपालमा बीवाईडीको आफ्टर सेल्स नेटवर्क थप मजबुत बनाउने कम्पनीको दाबी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।