काठमाण्डौ । एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ।
नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल भएको थियो।
सम्मेलनमा करिब ४०० उद्यमी, युवा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, निजी तथा प्रविधि क्षेत्रका विज्ञ र नीति निर्माणसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ।
सहभागीहरूले युवा उद्यमशीलताको प्रवर्द्धन, प्रविधिको प्रभावकारी उपयोग, लगानी विस्तार र उद्यममैत्री वातावरण निर्माणमा जोड दिएका थिए।
एनबीआईका कार्यकारी अध्यक्ष तथा सम्मेलन प्रमुख विशाल गैरेका अनुसार सम्मेलनले एआई तथा डिजिटल अर्थतन्त्रमा युवाको भूमिका, युवा उद्यमीको वित्तीय पहुँच विस्तार, सीप विकास र रोजगारीबीचको सम्बन्ध तथा सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीचको सहकार्यलाई प्राथमिकतामा राखेको थियो।
सिबिफिनका अध्यक्ष राजेश उपाध्यायले युवालाई सीप, पुँजी, प्रविधि र बजारसँग जोडेर उद्यमशीलता तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने बताए। सरकार, वित्तीय संस्था र युवा उद्यमीको सामूहिक प्रयासबाट मात्रै उद्यमशीलताका लागि अनुकूल वातावरण निर्माण गर्न सकिने उनको भनाइ थियो।
सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, योजना आयोगका सदस्य डा. सुदन झा, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभा सदस्य एवं उद्यमी विदुषी राणा, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायतले विभिन्न विषयमा धारणा राखेका थिए।
त्यस्तै, वरिष्ठ उद्यमी पवन गोल्यान, वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल, एफवान सफ्टका सहसंस्थापक सुवास शर्मा, नाडाका पूर्वअध्यक्ष करण चौधरी, नेपाल एआई एसोसिएसनका अध्यक्ष शैलेन्द्रराज गिरी, शिक्षाविद् प्रा.डा. रोशी लामिछाने र इन्जिनियर प्रकाशकुमार केजरीवाललगायतले विभिन्न सत्रमा प्रस्तुति दिएका थिए।
‘NextGen Nepal: AI, Entrepreneurship & Employment for the Future’ नारासहित आयोजना गरिएको सम्मेलनले युवाको क्षमतालाई उत्पादन, नवप्रवर्तन र रोजगारीमा रूपान्तरण गर्दै आत्मनिर्भर तथा समृद्ध नेपाल निर्माणका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।