काठमाडौं । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा विन्टर शेड्युल लागू भएसँगै फ्लाइदुबईले दुबई–पोखरा–दुबई उडानको समय ५० मिनेट पछाडि सारेको छ ।
नयाँ तालिकाअनुसार दुबईबाट आउने विमान बेलुका ७ः०५ देखि ७ः१० बजेसम्म पोखरा अवतरण गर्नेछ भने पोखराबाट ८ः०५ देखि ८ः१० बजे दुबईका लागि उड्नेछ । यसअघि विमान बेलुका ६ः१५ बजे पोखरा अवतरण गरी ७ः१५ बजे प्रस्थान गर्ने गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार रात्रिकालीन उडानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ ।
गत असोज ७ गतेदेखि सुरु भएको फ्लाइदुबईको नियमित उडानबाट पहिलो महिनामा ३० उडानमार्फत ६ हजार ३६२ यात्रुले आवतजावत गरेका छन् । तीमध्ये दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ जना छन् । दसैँ र तिहारका कारण नेपाल फर्कने यात्रुको चाप बढेको विमानस्थलले जनाएको छ ।
फ्लाइदुबईले सन् २०२७ को अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरिसकेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा उद्योगीलाई पोखरा विमानस्थल प्रयोग गर्न आग्रह गरेका छन् ।
२०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइदुबईको नियमित अन्तर्राष्ट्रिय उडानले क्षेत्रीय पर्यटन, व्यापार र आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।