काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै विपक्षी टोलीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु भएको हो। प्रतियोगिताका लागि त्रिवि क्रिकेट मैदान र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुरक्षाका लागि १ हजार २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने १०० भन्दा बढी सादा पोशाकका प्रहरीसमेत खटाइएको छ। विभिन्न क्षेत्रमा कमान्ड पोस्ट स्थापना गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ।
आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा डेभिड वार्नर, आन्द्रे रसेल र शाकिब अल हसनलगायत अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सहभागी हुने भएकाले यसपटकको एनपीएलप्रति दर्शकको चासो उच्च देखिएको छ।
प्रतियोगिताबाट करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।